संघर्ष, अवरोध र आलोचना चिर्दै बेलडाँडीमा १५ सैया अस्पताल अन्तिम चरणमा

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा निर्माणाधीन १५ सैया अस्पताल भवन अहिले अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म राजनीतिक बेवास्ता, आन्तरिक विवाद, अतिक्रमण र अवरोधबीच सुरु भएको यो योजना अन्ततः मूर्तरूप लिन थालेपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ स्थानीय तहमा १५ सैयाका आधारभूत अस्पताल शिलान्यास गर्ने क्रममा बेलडाँडी अस्पतालको समेत भर्चुअल उद्घाटन गर्नुभएको थियो । तर भर्चुअल शिलान्यासपछि तत्कालीन एमाले नेतृत्वको स्थानीय सरकारले निर्माण प्रक्रिया अगाडि बढाउन खास चासो नदिँदा योजना लामो समय अलपत्र मात्र परेन की पहिलो चरणको बजेट समेत फिर्ता गएको थियो ।

पछि कांग्रेस नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै अस्पताल निर्माणलाई प्राथमिकतामा राखियो । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको सक्रियता र दृढ अडानपछि मात्रै निर्माण कार्यले गति लिएको स्थानीयहरू बताउँछन् ।

अस्पताल निर्माणका लागि छनोट गरिएको क्षेत्र अतिक्रमणमा परेका कारण काम सुरु गर्नु नै चुनौतीपूर्ण बनेको थियो । उक्त क्षेत्र खाली गराउने क्रममा गाउँपालिका प्रमुखले ठूलो विरोध, दबाब र आन्तरिक संघर्ष झेल्नुपरेको थियो । प्रमुख रानाका अनुसार आफ्नै नेतृत्वभित्रबाट ठाउँ खालि गर्दा ठुलो अवरोध सिर्जना गरिएको थियो ।

तर त्यसबेला पछि नहटी अघि बढेको निर्णयकै कारण आज अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष रानाको भनाई छ ।

“त्यतिबेला अनेक दबाब, आलोचना र अवरोध थिए । आफ्नै मान्छेबाट पनि असहयोग भयो । तर जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले पछि हटिनँ,” अध्यक्ष रानाले स्मरण गर्नुभयो ।

निर्माण कम्पनी बङलामुखी बैजनाथ जेभीले २०७९ मंसिर ६ गते सम्झौता गरी १६ करोड ५१ लाख ६२ हजार ५ सय ७७ रुपैयाँ लागतमा अस्पताल निर्माण थाले को थियो । बजेट अभावका कारण झण्डै १८ महिना काम प्रभावित भए पनि अहिले निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।

निर्माण कम्पनीका ठेकेदार सुनिल कुँवरका अनुसार अब थप बजेट अवरोध नभए आउँदो दशैं-तिहारभित्र भवन गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।

हाल प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सीमित सेवा पाइरहेका बेलडाँडीवासीले अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सकसहितको सेवा आफ्नै पालिकामा पाउने अपेक्षा गरेका छन् । स्थानीयहरूका अनुसार यो अस्पताल केवल स्वास्थ्य सेवा विस्तारको प्रतीक मात्र नभई बेलडाँडीको विकास, संघर्ष र नेतृत्व क्षमताको उदाहरणसमेत बनेको छ ।

अवरोध, आलोचना र अतिक्रमणका चुनौती चिर्दै अघि बढेको यो स्वास्थ्य पूर्वाधार अब बेलडाँडीवासीको आशाको केन्द्र बन्दैछ…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित