काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री तथा वितरण गरेको जनाएको छ।
सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उक्त परिमाणको अनुदानित रासायनिक मल किसानसम्म पुर्याइएको जानकारी दिए।
सरकारका अनुसार विसं २०८२ चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ५३ हजार ७१६ दशमलव ४५ मेट्रिकटन तथा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ३५ हजार ४७८ दशमलव १० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको छ।
किसानलाई सहज र प्रभावकारी रूपमा मल उपलब्ध गराउने उद्देश्यसहित सरकारले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने कदमसमेत चालेको छ। यसका लागि रासायनिक मल वितरक कम्पनीहरूलाई गरिने रकम निकासा प्रक्रिया व्यवस्थित, वस्तुपरक र व्यावहारिक बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गरिएको सरकारको भनाइ छ।
सरकारले कृषि उत्पादन वृद्धि तथा किसानलाई समयमै मल उपलब्ध गराउने लक्ष्यसहित मल आपूर्ति र वितरण व्यवस्थापनमा सुधारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।






















Discussion about this post