दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार आइतबार राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी छन्।
भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीघरबाट बोलेरो गाडीमा घर फर्किरहेका उनीहरू सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पुगेका थिए। पहिरोका कारण सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा अर्को पहिरो खस्दा उनीहरू पुरिएका प्रहरीले जनाएको छ।
स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरेका थिए भने गम्भीर घाइते शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।



















Discussion about this post