कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राख्दै हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने घोषणा गरेका छन्।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्ट आइतबार सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पतालको अनुगमनमा पुगेका हुन्। अनुगमनका क्रममा उनले अस्पतालको आकस्मिक कक्ष, शौचालय तथा अन्य सेवा क्षेत्रको निरीक्षण गरेका थिए।
आकस्मिक कक्षसँगै जोडिएको शौचालयको अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री भट्टले अस्पताल परिसरको सरसफाइ तथा व्यवस्थापन चुस्तदुरुस्त राख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
अनुगमनका क्रममा मुख्यमन्त्री भट्ट र सामाजिक विकास मन्त्री थापाले अस्पतालमा उपचाररत बिरामीसँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या र गुनासा समेत सुनेका थिए। बिरामीहरूले उपचार सेवा लिँदा भोग्नुपरेका विभिन्न समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए।
मुख्यमन्त्री भट्टले प्रदेशकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार गम्भीर रहेको संकेत गरेका छन्। प्रदेशमा सबैभन्दा बढी बिरामीको चाप रहने अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रभावित हुँदै आएको छ।
सेती प्रादेशिक अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी सेवा सञ्चालन हुँदै आएको छ। पर्याप्त जनशक्ति र पूर्वाधारको अभावका कारण बिरामीले अपेक्षाअनुसार प्रभावकारी उपचार सेवा पाउन कठिनाइ हुने गरेको गुनासो गर्दै आएका छन्।
मुख्यमन्त्री भट्टको नियमित अनुगमनले अस्पतालको सेवा प्रवाह, सरसफाइ, जनशक्ति व्यवस्थापन तथा बिरामीका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न दबाब सिर्जना हुने अपेक्षा गरिएको छ।





















Discussion about this post