कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन–२०७८ जारी गरेसँगै नयाँ छनोट भएका भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा २६ जना नयाँ भलमन्सालाई प्रमाणपत्र वितरण गरिएको हो।
बेलौरी नगरपालिका–९, ढिक्का कुण्डाका वीरबहादुर चौधरी यसपालि चौधरी समुदायबाट सर्वसम्मत भलमन्सा पदमा छनोट भएका छन्। यसअघि सो पदमा रहेर करिब पाँच वर्षसम्म सेवा गरेका लोकेन्द्र चौधरीले अनुभव बाँड्दै भलमन्साले समुदायका समस्या समाधान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
नव–निर्वाचित भलमन्सा वीरबहादुरले आफ्नो कार्यकालमा समुदायका हक हित, घरायसी विवाद समाधान, सामाजिक मेलमिलाप र विकास कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाए।
नगर प्रमुख पोतिलाल चौधरीले भलमन्सा ऐनमार्फत नगरपालिकाले राना–थारू समुदायको परम्परागत संस्थागत व्यवस्थालाई सम्मान गर्दै सुदृढ बनाएको उल्लेख गरे। बेलौरी नगर भलमन्सा समितिका संयोजक अमरसिंह चौधरीका अनुसार भलमन्साहरूले विवाह, व्रतबन्ध, आपसी विवाद समाधान, सचेतनामूलक कार्यक्रम तथा सरसफाइ अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्।
थारू समुदायमा सँदियौंदेखि भलमन्सा (बरघर) चयन गर्ने परम्परा छ। राना समुदायले असार महिनामा र चौधरी समुदायले माघ महिनामा नयाँ भलमन्सा छनोट गर्दै आएका छन्। समुदायले भलमन्सालाई वार्षिक रूपमा प्रतिपरिवार १०–१५ किलो धान दिने प्रचलन पनि रहेको छ।
यसअघि गत फागुनमा पहिलो पटक प्रमाणपत्र वितरण गरिएकोमा शुक्रबार दोस्रो पटक भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो। हाल बेलौरी नगर भलमन्सा समितिमा एक सय सात भलमन्सा दर्ता छन्।






















Discussion about this post