काठमाडौँ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जी पुस्ताले काठमाडौँको माइतीघर मण्डलामा ऐतिहासिक प्रदर्शन सुरु गरेका छन् । हातमा “भ्रष्टाचार अन्त्य गर”, “सञ्जाल हाम्रो अधिकार हो”, “पारदर्शी सरकार चाहिन्छ” जस्ता नारा लेखिएका प्लेकार्डसहित युवाहरू सडकमा ओर्लिएका छन् ।
कलेज र स्कुलको पोसाकमै सडकमा उत्रिएका हजारौँ विद्यार्थीहरूको भीडमा जेन जी पुस्ताबाहेक अन्य युवा पुस्ताको पनि उल्लेख्य सहभागिता छ । उनीहरूको एकताले राजधानीको वातावरण नै चेतना र प्रतिरोधको स्वरले गुन्जायमान बनेको छ ।
आन्दोलनकारीहरूले जारी गरेको विज्ञप्तिमा आफ्नो अभियान शान्तिपूर्ण, कानुनी र पूर्णतया उद्देश्यपूर्ण हुने उल्लेख गरिएको छ । उनीहरूले आन्दोलनको मूल लक्ष्यलाई भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने भनेर स्पष्ट पारेका छन् ।
“हामी हाम्रो शक्ति हिंसामा होइन, एकता, सृजनशीलता र सत्यमा देखाउँछौँ,” विज्ञप्तिमा भनिएको छ । उनीहरूले सहभागी सबैलाई तोडफोड वा अव्यवस्था नगरी अनुशासित तरिकाले आवाज उठाउन आग्रह गरेका छन् ।
जेन जी आन्दोलनले राजनीतिक दल र नेताहरूलाई आफ्नो आन्दोलनलाई व्यक्तिगत वा पार्टीगत स्वार्थमा प्रयोग नगर्न कडा चेतावनी दिएको छ । उनीहरूले यो आन्दोलन कुनै दलको होइन, नेपालको भविष्यको आन्दोलन भएको स्पष्ट पारेका छन् ।
आन्दोलनकारीहरूले सरकार र राज्य निकायलाई शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न आग्रह गरेका छन् । यदि आन्दोलनमाथि बल प्रयोग, दमन वा दुव्र्यवहार गरिए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने चेतावनी पनि उनीहरूले दिएका छन् ।
जेन जी पुस्ताको यो जागरणले भ्रष्टाचारविरुद्धको जनदबाब अझ बलियो बनेको छ । काठमाडौंमा सुरु भएको यो आन्दोलन अब मुलुकभर चेतना फैलाउने जनविश्वास युवाहरूमा झनै बढ्दै गएको छ ।





















Discussion about this post