कैलाली । कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्काउ अभियानलाई तीव्र बनाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहहरूसँग सहकार्य गर्दै जिल्लाभर अभियान सञ्चालन गरिरहेको जनाएको छ।
विशेषगरी तराईका बस्तीहरूमा संक्रमण देखिएपछि बिरामी भेटिएका घर तथा वरिपरिका क्षेत्रमा लक्षित रूपमा विषादी छिट्काउने काम भइरहेको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाभर ४ हजार ६ सय ९० घरमा विषादी छिट्काइएको छ, जसबाट ९ हजार १ सय ६ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कैलालीमा १३३ जनामा औलो पुष्टि भएको छ। अघिल्लो आर्थिक वर्षमा २ सय ३१ र २०८०/८१ मा १३५ जनामा संक्रमण देखिएको थियो।
कालाजारका मामलामा सन् २०२४ मा ११, २०२५ मा ७ र २०२६ मा हालसम्म १ जना बिरामी फेला परेको छ।
स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार दुई पहाडी स्थानीय तह बाहेक अन्य ११ स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ। “बिरामी भेटिएका घर तथा वरपरका क्षेत्रमा प्राथमिकताका साथ विषादी छिट्काइएको छ,” उनले बताए।
कार्यालयका अनुसार साउन, भदौ, चैत, बैसाख र जेठ महिनामा विषादी छिट्काउने काम विशेष रूपमा गरिन्छ। अभियानसँगै सरसफाइमा ध्यान दिनु, पानी जम्न नदिनु, झ्याल–ढोकामा जाली प्रयोग गर्नु, लामखुट्टेबाट बच्ने उपाय अपनाउनु र समुदायमा जनचेतना प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन भइरहेको छ।
सरकारले सन् २०२८ सम्म औलो र २०३० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य राखेको छ। कैलालीमा भइरहेको अभियानले संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव देखाए पनि पूर्ण नियन्त्रणका लागि निरन्तर निगरानी, प्रभावकारी सरसफाइ र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।



















Discussion about this post