एमालेद्वारा सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेरको तयारी, चार नयाँ अनुहार सरकारमा आउने

धनगढी । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नेतृत्व पठाउने तयारी गरेको छ।

पार्टी स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई प्रतिस्थापन गर्दै नयाँ तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने निर्णय गरिएको हो।

स्रोतका अनुसार एमालेले प्रदेशसभा उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने तयारी गरेको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पुगिसकेको बताइएको छ।

तयारीअनुसार सन्तोष शर्मा थापालाई भौतिक पूर्वाधार विकास मन्त्री, दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा चक्र मल्ललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिइने भएको छ। यस्तै जानकी ऐर बमले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम भोलि साँझसम्म सम्पन्न हुन सक्ने सम्भावना रहेको छ।

हाल एमालेको तर्फबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा कार्यरत छन्। उनीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ।

त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई समेत सरकारबाट फिर्ता बोलाइने तयारी भएको एमाले स्रोतले जनाएको छ।

एमालेको यो कदमलाई आगामी राजनीतिक रणनीति तथा सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको मन्त्रीमण्डल पुनर्गठनका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित