BV App बाट सचेत रहन प्रहरीको चेतावनी, आकर्षक आम्दानीको प्रलोभनमा नपर्न आग्रह

कञ्चनपुर । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरले पछिल्लो समय विभिन्न स्थानमा सञ्चालन भइरहेको ‘BV’ नामक एप (App) मार्फत हुने सम्भावित आर्थिक ठगीप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार विगत ५-६ महिनादेखि देशका विभिन्न स्थानमा BV नामक एप एक व्यक्ति वा समूहद्वारा सक्रिय रूपमा सञ्चालन हुँदै आएको पाइएको छ। उक्त एपले आफूलाई अष्ट्रेलियासँग सम्बन्धित भेन्डिङ मेसिन, उपहार कार्ड, गिफ्ट कार्ड, स्क्र्याच कार्डलगायत व्यवसायसँग आबद्ध भएको दाबी गर्दै विभिन्न आकर्षक लगानी योजना सार्वजनिक गरेको जनाएको छ।

सूचनाअनुसार एपले रु १३ हजारदेखि रु ५२ हजार, दुई लाख वा सोभन्दा बढी रकम लगानी गरी विभिन्न स्तरका खाता सञ्चालन गर्न सकिने भन्दै लगानीकर्तालाई प्रलोभनमा पार्ने गरेको छ। लगानीपछि ‘एलिजा’ नामक एक एडमिनसहितको समूहले योजना सञ्चालन गर्दै प्रारम्भिक चरणमा सहभागीलाई सानो-सानो रकम फिर्ता गरेर विश्वास जित्ने रणनीति अपनाउने गरेको उल्लेख गरिएको छ।

यसरी विश्वास बढ्दै जाँदा सहभागीको संख्या विस्तार हुने र लगानीको रकम पनि बढ्दै जाने गरेको प्रहरीको भनाइ छ। एपले दैनिक रु ४५० सम्म आम्दानी हुने, बढी लगानी गर्नेहरूलाई दैनिक रु १ हजार ६५० सम्म आम्दानी तथा मासिक रु ७ हजार अतिरिक्त लाभ प्राप्त हुने दाबी गर्दै भुक्तानीसमेत गरेको सूचनामा उल्लेख छ।

प्रहरीले यस्ता प्रारम्भिक प्रतिफलका कारण धेरै व्यक्तिले योजना कानुनी, भरपर्दो र सुरक्षित ठानेर ऋण लिएर वा आफ्नो जीवनभरको बचत प्रयोग गरी ठूलो रकम लगानी गर्न सक्ने जोखिम रहेको जनाएको छ। तर ठूलो मात्रामा रकम संकलन भएपछि यस्ता एप वा योजना अचानक बन्द भई हजारौँ नागरिकको बचत जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

यस्तो अवस्थाले लगानीकर्तालाई ठूलो आर्थिक क्षति मात्र नभई मानसिक तनाव, पारिवारिक तथा सामाजिक समस्या उत्पन्न हुने र दुर्भाग्यवश आत्महत्याजस्ता दुःखद घटना समेत घट्न सक्ने सम्भावना रहने प्रहरीको भनाइ छ।

त्यसैले प्रहरीले सर्वसाधारणलाई यस्ता एप तथा अविश्वसनीय लगानी योजनामा आबद्ध नहुन, अरूलाई पनि सचेत गराउन तथा आफ्नो धनसम्पत्ति सुरक्षित राख्न आग्रह गरेको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीद्वारा जारी सूचनामा नागरिकलाई सजग, जिम्मेवार र सचेत बन्न विशेष अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित