कैलाली । डिभिजन वन कार्यालय कैलालीले वन अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गोदावरी क्षेत्रमा निर्माण गरिएका दर्जनौं अवैध संरचना हटाएको छ। शुक्रबार सञ्चालन गरिएको अभियानअन्तर्गत सालिनी वाटिकाको गेटदेखि गोदावरी क्षेत्रसम्म वन अतिक्रमण गरी बनाइएका ‘भाइरल हात’, ‘भाइरल पिङ’ लगायतका आकर्षक संरचनासहित ४७ वटा घर टहरा डोजर लगाएर हटाइएको हो।
भीमदत्त राजमार्गअन्तर्गत गोदावरी-४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण रोक्न डिभिजन वन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। पछिल्लो समय सडक किनार र वन क्षेत्रमा अवैधरूपमा घर टहरा तथा विभिन्न संरचना निर्माण हुने क्रम बढेपछि कार्यालयले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको जनाएको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले अतिक्रमणकारीलाई पटक-पटक सूचना तथा चेतावनी दिँदा पनि अटेर गरेपछि कानुनी प्रक्रिया अनुसार संरचना हटाउन बाध्य भएको बताए। उनका अनुसार गोदावरी पुलदेखि माथिल्लो क्षेत्रमा करिब चार किलोमिटर सडक किनारसम्म वन अतिक्रमण फैलिँदै गएको थियो।
अतिक्रमण हटाउने क्रममा केही व्यक्तिले अवरोध सिर्जना गर्न खोजेपछि दुई जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ। वन कार्यालयले सार्वजनिक वन क्षेत्रको संरक्षण, प्राकृतिक सम्पदाको सुरक्षा तथा भविष्यमा हुने अतिक्रमण रोक्न यस्ता अभियानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।
यसअघि पनि गोदावरी-८ स्थित स्याउले क्षेत्रमा रहेका करिब ३० वटा घर टहरा हटाइएको थियो। वन कार्यालयको पछिल्लो कदमलाई वन संरक्षण र सार्वजनिक जग्गा जोगाउने अभियानको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।





















Discussion about this post