नहर अतिक्रमण हटाउन महाकाली सिँचाइ व्यवस्थापन कार्यालयको सातदिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ व्यवस्थापन कार्यालय, महेन्द्रनगरले महाकाली सिँचाइ प्रणालीअन्तर्गतका मूल तथा शाखा नहर क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउन सम्बन्धित सबैलाई सात दिनभित्र संरचना हटाउन आग्रह गरेको छ।

कार्यालयले दोस्रो पटक सूचना प्रकाशित गर्दै नहरको राइट अफ वे (Right of Way) भित्र कार्यालयको स्वीकृतिबिना स्थायी तथा अस्थायी घरटहरा निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने, नहर पुरी बाटो बनाउने, नहरका संरचना भत्काउने, ढल तथा फोहोर पानी मिसाउने तथा नहर सञ्चालनमा अवरोध पुग्ने कुनै पनि गतिविधि कानुनविपरीत रहेको जनाएको छ।

सूचनाअनुसार नहर क्षेत्रभित्र निर्माण गरिएका घरटहरा तथा अन्य संरचनाहरू सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वेच्छाले हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ। तोकिएको अवधिभित्र अतिक्रमण हटाइएन भने कार्यालयले कानुनअनुसार आवश्यक कारबाही गरी त्यस्ता संरचनाहरू हटाउने चेतावनी दिएको छ।

कार्यालयले अतिक्रमण हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट प्रचलित कानुनबमोजिम असुल गरिने समेत स्पष्ट पारेको छ।

महाकाली सिँचाइ व्यवस्थापन कार्यालयले नहर क्षेत्रको संरक्षण, सिँचाइ प्रणालीको दीगो सञ्चालन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सबै नागरिकको साझा दायित्व भएकाले नहर अतिक्रमण नगर्न र भएका संरचना समयमै हटाई सहयोग गर्न अनुरोध गरेको छ। जनचेतनामूलक रूपमा जारी गरिएको यो सूचनाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा सिँचाइ सेवाको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित