पत्रकारमाथि गम्भीर आरोपपछि महासंघको कारबाही, सदस्य ऐश्वर्य कुँवर निलम्बन

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले शाखा सदस्य ऐश्वर्य कुँवरलाई सदस्य पदबाट निलम्बन गरेको छ।

समाचार सङ्कलनका क्रममा भीमदत्त नगरपालिका-१८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटामाथि दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेपछि महासंघले उक्त निर्णय गरेको हो।

महासंघका सचिव कुन्दन पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, असार ७ गते दिउँसो महेन्द्रनगरस्थित होटल स्वीट ड्रीममा भएको घटनामा पत्रकार कुँवरले सार्वजनिक स्थलमा पत्रकारिताको मर्यादा र आचारसंहिता विपरीत व्यवहार प्रदर्शन गरेको ठहर गर्दै नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन-२०७५) को परिच्छेद ५ को दफा १८ उपदफा (३) को “च” बमोजिम उनलाई शाखा सदस्य पदबाट निलम्बन गरिएको हो।

महासंघले घटनाबारे थप छानबिन जारी रहेको जनाएको छ। यसैबीच, घटनासँग सम्बन्धित सार्वजनिक भएको भिडियो सामग्रीमा वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटाले पत्रकार ऐश्वर्य कुँवरमाथि फिरौती मागेको तथा रकम असुली गरेको जस्ता गम्भीर आरोप लगाएको देखिएकाले ती आरोप पुष्टि हुने प्रमाण र आधार उपलब्ध गराइदिन सम्बन्धित पक्षसँग महासंघले आग्रह गरेको छ।

महासंघले पछिल्लो समय पत्रकारिता पेशाको मर्यादा र पत्रकार आचारसंहिताविपरीतका गतिविधि सार्वजनिक भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई व्यावसायिक आचरण र पत्रकारिताको मूल्य-मान्यतालाई अक्षरशः पालना गर्न आग्रह गरेको छ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित