काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच भएका समझदारी तथा अघि बढाइएका विकास परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष रूपमा महसुस गर्न पाउनुपर्ने बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबीच भएका सम्झौता र परियोजनाहरू जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
नेपाली भाषामा सम्बोधन गर्दै उनले भने, ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।’प्रधानमन्त्री शाहले पुर्खाले स्थापित गरेको नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा नयाँ उचाइमा पुर्याउनुपर्ने बताए । बदलिँदो समयको आवश्यकताअनुसार दुई देशबीचको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा छलफल भएको जानकारी दिँदै उनले विभिन्न क्षेत्रमा समझदारी हुनुका साथै पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्यास गरिएको बताए ।
नेपाल–भारत सम्बन्ध भगवान् राम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै शाहले सम्बन्धलाई थप जीवन्त बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको जानकारी दिए ।
उनले नेपालमा साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । साथै, दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा पनि जोड दिए ।
प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ अविरल बगिरहोस् भन्ने कामना गर्दै दुवै राष्ट्रको समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।






















Discussion about this post