नेपालगञ्ज आइपुगे भारतले दिएका १५ वटा मुर्रा राँगा

हिजो बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन् ।

 

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने बताएको थियो । सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो ।

अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच–पाँच वटाको दरले बाँड्ने मन्त्रालयले निर्णय गरेको लहान पशु प्रजनन केन्द्रका प्रमुख शिवनाथ महतोले बताए ।

’मन्त्रालयको निर्णयअनुसार यहाँबाट हामी भोलि आफ्नो भागमा परेको राँगा लैजान्छौं,’ उनले भने, ’सरकारले रैथाने भैंसीहरूको नश्ल सुधार गर्ने र दुध उत्पादन पनि बढाउने भन्दै २०७३ सालमै मुर्रा राँगा ल्याउन पहल सुरू गरेको थियो।’

पशु विज्ञहरूका अनुसार उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिणाममा दूध दिन्छन् । सोही कारण सरकारले रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउन पहल गरेको थियो ।

सामान्यतया साढे तीन वर्ष पुगेका मुर्रा राँगाहरू वीर्य उत्पादनका लागि तयार हुन्छन् । तर अहिले नेपाल ल्याइएका प्रायः राँगाहरू साढे दुईदेखि तीन वर्ष बीचका रहेकाले वीर्य उत्पादन गर्न केही समय लाग्ने महतोले बताए ।

’अब हामी यी राँगाहरूलाई सम्बन्धित प्रजनन केन्द्रमा लगेर उमेर जाँच गर्छौं,’ उनले भने, ’वीर्य उत्पादन गर्ने उमेर पुगेकालाई तालिम दिएर बीउ निकाल्ने र राम्रो वीर्य उत्पादन हुन थालेपछि प्रशोधन गरेर किसानलाई वितरण गर्न थाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित