बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका भएर बग्ने विभिन्न खोलानालामा निड्स नेपाल र अक्सफामको साझेदारीमा बाढीमा आधारित नमुना अभ्यास सम्पन्न गरिएको छ । सम्भावित विपदबाट आफुपनि बाच्ने र अरुलाई पनि बचाउने सेरोफेरोमा रहि अभ्यास गरिएको हो ।
बेलडाँडी बाढीबाट प्रभावित हुने उच्च जोखिम क्षेत्रमा सो नमुना अभ्यास गरिएको हो । ‘गाँउबस्तीमा विपद् जोखिम बढ्दा शुरुमै समुदाय नै जिम्मेबार बनाउनुपर्ने हुदा यस्तो अभ्यास गराइएको परियोजनाका सामाजिक परिचालक जानकी शाहीले जानकारी गराउनु भयो । उहाँका अनुसार ‘राज्यका निकाय जोखिम भएको स्थानमा पुग्दासम्म समय लाग्ने र उतिबेलासम्म समुदाय स्तरबाटै उद्दार कार्य गर्ने गराउने समुदायकै व्यक्ति सरिक हुनपर्ने अवस्था रहेकाले यस्तो अभ्यास गराएको बताउनु भयो ।’
निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित स्कोप आर थ्री परियोजनाको आयोजनामा बेलडाँडी वडा नम्बर ३ कमरी, वडा नम्बर ५ झिलमिला र वडा नम्बर ५ कै गौडीमा नमुना अभ्यास गरिएको हो । नमुना अभ्यासमा परियोजनाका सहजकर्ता जनक लेखकले विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यास सहजीकरण गर्नु भएको थियो ।
बेलडाँडीमा चौधर, झर्नाखोला र निकुञ्जबाट आउने पानीका कारण डुवान, कटान हुँदै आएको छ । स्थानीयले चौधर नदी विच जंगलबाटै डाईभर्सन गर्नुपर्ने र झर्नाखोलाको हेडटु टेल तटबन्ध निर्माणको माग सार्दै आएका छन । सरकारी निकायबाट कनिका छरेजस्तै तटबन्ध निर्माण हुँदा एक ठाँउमा निर्माण गर्दा अर्को ठाउँमा भत्किने समस्या निम्तिरहेको छ ।
नमुना अभ्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा समुदायका नागरिकको सहभागिता रहेको थियोे । सहभागीहरूले विपद्को समयमा आआफ्नो क्षेत्रबाट सक्रिय भएर विपद् व्यवस्थापनका कार्यमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
Discussion about this post