कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ । ठेक्का सम्झौता भएको सात वर्ष बित्दा समेत कार्य सम्पन्न हुन सकेको छैन् । हाल सम्म ९ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको छ ।
२०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको हो । हालसम्म सडक निर्माणका लागि चारपटक म्याद थप हुँदा समेत निर्माणले पूर्णता पाउन सकेको छैन ।
कञ्चनपुरबाट डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिकपर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्री मधेसका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दूरीको सडक नबन्दा हामीले घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ, डडेल्धुराको जोगबुढाका रामबहादुर बुढामगरले भने, ‘यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख खेप्नुपरेको छ ।
उनले सडक नहुँदा जोगबुढा र पर्शुराम क्षेत्रको उत्पादन बिक्रीका लागि पनि समस्या हुने गरेको बताए । ‘सडक भइदिएको भए यहाँ उत्पादन भएका दाल, तरकारी महेन्द्रनगर बजार लगेर बिक्री गर्न सहज हुन्थ्यो, उनले भने, ‘सडक निर्माण भइदिए यहाँ धेरैले रोजगार पाउने थिए । सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा चुरे पहाडमा सडक किनारामा निर्माण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय नरेश जोशीले बताए ।
‘बनेका पर्खाल र नाली जीर्ण हुदै गएका छन, जोशीले भन्ने, ‘वर्षात्मा हरेक वर्ष सडमा क्षति हुने गरेको छ । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पकारुपमा रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भने सडक निर्माणमा ढिलाइ भएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी आन संह डाँगाले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक हालसम्म पनि पूरा नभएको बताए । ‘हरेक वर्ष वर्षात्मा बाढीले क्षति गर्ने गरेको छ, यसका कारणले पनि समस्या भएको छ, उनले भने, ‘हालसम्म चार पटक म्याद थप भइसकेको छ, अहिले पनि म्याद थपको प्रक्रियमा छ उनका अनुसार निर्माण व्यवसायीले १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।
कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किमी दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किमी पार गरेपछि पुगिन्छ ।
Discussion about this post