म्याङ्लोर । रोजगारी र जीवनयापनका सिलसिलामा भारतमा बस्दै आएका नेपालीहरूलाई एकआपसमा जोड्दै संस्कृति संरक्षण गर्ने उद्देश्यले भारतको म्याङ्लोरमा माघी विशेष देउडा कार्यक्रम आयोजना हुने भएको छ ।
आयोजकका अनुसार आगामी जनवरी १८ तारिख (माघ ४ गते, आइतबार) का दिन कर्नाटक राज्यको म्याङ्लोरस्थित उर्वा स्टोर प्रहरी चौकी पछाडि रहेको तुलु भवन मा उक्त कार्यक्रम सम्पन्न हुनेछ । म्याङ्लोर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।
परदेशी जीवनका दुःख,सुख साटासाट गर्दै मौलिक नेपाली संस्कृतिको संरक्षण गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक, देउडा गायक तथा समाजसेवी पदक खड्काले जानकारी दिनुभयो । “लामो समयदेखि घरदेश जान नपाएका दाजुभाइबीच आत्मीयता बढाउने र माघी पर्वको अनुभूति गराउने हाम्रो प्रयास हो,” खड्काले भन्नुभयो ।
कार्यक्रममा लाइभ देउडा प्रस्तुति रहनेछ । अन्तर्राष्ट्रिय कबड्डी खेलाडीसमेत रहेका देउडा गायक लक्ष्मण अधिकारी र देउडा तथा लाइभ देउडा गायिका रोशनी रोकायाको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूका लागि यस्ता सांस्कृतिक कार्यक्रमले घरदेशको सम्झना दिलाउनुका साथै आपसी सद्भाव र एकताको भावना बलियो बनाउने विश्वास लिइएको छ । कार्यक्रमा उपस्थितिका लागि आयोजकले सबै नेपाली दाजुभाईहरुमा हार्दिक आवहान गरेको छ ।
माघी पर्वको अवसरमा आयोजना हुने यस देउडा कार्यक्रमले प्रदेशी नेपालीको पीडा, संघर्ष र संस्कृतिप्रतिको माया उजागर गर्ने अपेक्षा गरिएको छ ।























Discussion about this post