बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ‘मेरो बेल्डाँडी’ नामक फेसबुक पेजमार्फत फैलाइएको सामग्री भ्रामक र असत्य भएको तथ्य फेला परेको छ। उक्त पेजमा सार्वजनिक गरिएको भिडियोमा गाउँपालिकाका कर्मचारीहरूले जनताको करबाट नियमविपरीत बेड, बिस्तार, ब्ल्याङ्केट लगायतका सुविधा लिएको दाबी गरिएको थियो।
तर यस विषयमा हाम्रो टोलीले गरेको स्थलगत अनुगमन तथा फलोअपमा त्यस्तो कुनै तथ्य पुष्टि नभएको देखिएको छ। गाउँपालिकाले कर्मचारीका लागि यस्ता सामग्री खरिद नगरेको स्पष्ट भएको छ। बरु कार्यालयमा कामको अत्यधिक चाप बढेका कारण कर्मचारीहरूलाई कार्यालय समय अघि-पछि समेत काम गर्नुपर्ने अवस्था सिर्जना भएको र बसोबासको समस्या समाधान गर्न वडा नं. ४ को खाली रहेको कार्यालयमा बस्नुपरेको पाइएको छ। सो क्रममा उनीहरूले आफ्नै खर्चमा ओढ्ने-ओछ्याउने सामग्री ल्याएको पुष्टि भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले पनि उक्त भिडियोप्रति गम्भीर आपत्ति जनाउँदै वास्तविकता नबुझी गाउँपालिकाको बदनाम गर्ने प्रयास भएको बताएका छन्। उनका अनुसार प्राविधिक कर्मचारीहरूलाई सेवा प्रवाह सहज बनाउन वडा नं. ४ को कार्यालयमा राखिएको हो, र उनीहरूले प्रयोग गरेका सामग्री व्यक्तिगत खर्चमै खरिद गरिएका हुन्।
विकले थप स्पष्ट पारे कि कर्मचारीहरूले ल्याएका सामग्रीहरू गाउँपालिकाको सवारी प्रयोग गरी कार्यालय समयमै चवन्नी बजारबाट ल्याइएको थियो, किनकि मोटरसाइकलमा ल्याउन असम्भव भएपछि पालिकाले गाडी पठाइदिएको थियो । त्यस लगत्तै गाडी अन्यत्र जानुपर्ने भएकाले त्यहीँ खाली गरिएको हो। उनले बेलडाँडीमा सुशासन कायम गर्न आफू दिनरात लागिरहेको तर त्यस क्रममा अनावश्यक आरोप, गालीगलौज र धम्कीसमेत सहनु परेको गुनासो गरे।
पछिल्लो समय गाउँपालिकाले नास्ता, अनावश्यक बिल, तेलका टोकन लगायतका फजुल खर्च नियन्त्रण गर्न थालेपछि यसअघि यस्ता सुविधा लिँदै आएका केही समूह असन्तुष्ट भई भ्रम फैलाउन सक्रिय भएको आशंका गरिएको छ। गाउँपालिकाले केही दिनअघि मात्र यस्ता खर्च रोक्न औपचारिक सूचना समेत जारी गरेको थियो।
तेलका टोकन जस्ता सुविधामा कडाइ गरिएपछि प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिने र गाउँपालिकामाथि आक्रमणको चेतावनी दिने घटनासमेत भएको बताइएको छ।
गाउँपालिकाले यस्ता भ्रामक सूचना फैलाउने जो-कसैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ। साथै, नियमविपरीत सञ्चालन हुँदै आएको उपाध्यक्ष कोष कार्यपालिकाबाट हटाइएपछि केही व्यक्तिहरू असन्तुष्ट भई यस्तो गतिविधिमा संलग्न भएको पनि बताइएको छ।
बेलडाँडी गाउँपालिकाले सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै विकास र सुशासनको अभियानमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।





















Discussion about this post