धनगढी: कैलालीको टीकापुरस्थित खक्रौला सीमा सुरक्षा गुल्मभित्रै प्रवेश गरी गरिएको आक्रमण घटनापछि त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई छानबिनका लागि मुख्यालय बोलाइएको छ। गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहित घटनाका बेला ड्युटीमा रहेका सुरक्षाकर्मीलाई हलचोकस्थित मुख्यालय तानिएको हो।
उक्त गुल्ममा कुल ३३ जना सशस्त्र प्रहरी कार्यरत रहेकामा विदामा रहेका बाहेक सबैलाई अनुसन्धानका लागि बोलाइएको सुदूरपश्चिमका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिएका छन्।
घटनापछि मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्टलाई खक्रौला खटाएको छ। गुप्तचर ब्युरोमा कार्यरत रहिसकेका विष्टलाई जिम्मेवारी दिइएको हो। साथै, ३४ नम्बर गण धनगढीबाट सशस्त्र प्रहरी निरीक्षक सुर्यप्रकाश पन्तलाई पनि त्यहाँ पठाइएको छ।
प्रहरीका अनुसार, घटनाको सुरुवात टीकापुरका एक व्यवसायीको बिलभन्दा बढी सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादबाट भएको थियो। सोही विषयमा उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरीबीच छलफल भइरहेका बेला एक समूहले बिओपीभित्रै प्रवेश गरी डिएसपीसहित सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो।
घटनामा संलग्न रहेको आरोपमा रामबहादुर साउदलाई पक्राउ गरिएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



















Discussion about this post