सपथ लिएकै दुई दिनमै सक्रियता : सांसद जनक सिंह धामीको बाढी-डुबान समाधानमा सकारात्मक पहल

कञ्चनपुर : प्रतिनिधि सभा सदस्यको रूपमा सपथ लिएको दुई दिन नबित्दै कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद जनक सिंह धामी विकास निर्माण र जनताका आधारभूत समस्यामा सक्रिय देखिएका छन्। विशेषगरी वर्षौंदेखि स्थानीयले भोग्दै आएको बाढी, डुबान र कटान समस्याको समाधानतर्फ उनले चासो र पहल सुरु गरेका छन्।

धामीकै पहलमा आइतबार महाकाली सिंचाई व्यवस्थापन कार्यालय प्रमुख प्रमोद तिम्सिना, महाकाली सिंचाई तेस्रो चरण आयोजना प्रमुख गणेश मणाशैनी, सिडिप्रकाश लम्साल, रास्वपा बेलडाँडी सभापति तेज सिंह धामीसहित स्थानीय बासिन्दाले कालिकिचदेखि चौधर नदी क्षेत्रहुदै शिवनगर नहर पुरै फिल्ड अनुगमन गरेका छन्। उक्त अनुगमनले तटबन्ध सुधार तथा सडकसहितको संरचना निर्माणका लागि ठोस कार्ययोजना तयार गर्ने आधार बनाएको छ।

अनुगमनका क्रममा कालिकिच तालको माथिल्लो भाग हुँदै भुर्षा क्षेत्रका किसानको जमिनलाई सुरक्षित गर्दै बस्ती जोगाउने उद्देश्यसहित अग्लो तटबन्ध र सडक विस्तारको सम्भावनाबारे अध्ययन गरिएको जनाइएको छ। स्थानीयका अनुसार यस क्षेत्रमा डुबान कटानका कारण वर्षेनी ठूलो क्षति हुँदै आएको छ।

रास्वपा बेलडाँडी सभापति तेज सिंह धामीले सांसद धामीले स्थानीयको पीडा नजिकबाट बुझेर तत्काल समाधान खोज्ने प्रयास गरिरहेको बताए। उनले किसान र सर्वसाधारणले भोग्दै आएको समस्यालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उल्लेख गरे।

सांसद धामीले कालिकिच तालदेखि चौधर नदी हुँदै भुर्षा स्कुलघाट जोड्ने तटबन्ध निर्माण, बैवाहको कालोपुलिया नजिक पानी निकासको व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि विस्तृत योजना बनाउने तयारी भइरहेको जानकारी दिए। साथै दोदा नदी क्षेत्रमा ‘ग्लोबल क्लाइमेट फन्ड’मार्फत अध्ययन भइरहेको र आगामी आर्थिक वर्षमै बजेट व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ।

उनले क्षेत्र विकासमा देखिएका बाधा-अड्चन पहिचान गर्दै समाधानका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। बेलौरीको पचुई क्षेत्रमा भारतीय पक्षका कारण अवरुद्ध रहेको हुलाकी सडक निर्माण समस्याको समाधानतर्फ पनि पहल भइरहेको उनले बताए।

विकासका हिसाबले पछाडि परेको यस क्षेत्रलाई राज्यबाट प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सांसद धामीले आफ्नो कार्यकाल जनताको प्रत्यक्ष समस्या समाधानमै केन्द्रित रहने स्पष्ट संकेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित