कञ्चनपुरमा सीमा विवाद समस्या समाधान मा सक्रियता बढ्यो, स्थलगत निरीक्षण तीव्र

डिल्लीराज पन्त/कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सिंह महताले प्रतिनिधि सभाको यही चैत २५ गतेको बैठकमा विशेष समय लिएर सीमा विवादको विषय उठाएसँगै सम्बन्धित निकायहरूको सक्रियता बढेको छ।

सोही क्रममा नापी विभागले नेपाल–भारत सीमा क्षेत्रमा देखिएको विवाद समाधानका लागि स्थलगत अध्ययन अघि बढाएको छ।
नापी विभाग प्रमुख नापी अधिकृत ज्ञानेन्द्र बिष्टको नेतृत्वमा खटिएको नेपाल–भारत सीमा सर्वेक्षण टोलीले कञ्चनपुर क्षेत्र नम्बर ३ अन्तर्गतका विवादित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको हो। टोलीले सीमा स्तम्भको अवस्था, भू-भागको यथार्थ स्थिति तथा स्थानीय स्तरमा देखिएका समस्या र गुनासोहरू संकलन गरेको जनाएको छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बलका एसपी प्रेम सिग्देल तथा सांसद ज्ञानेन्द्र सिंह महता समेतको सहभागितामा दोधारा–चाँदनी क्षेत्रमा स्थलगत निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा सीमा सुरक्षाको अवस्था, स्थानीय बासिन्दाको समस्या तथा समग्र परिस्थितिबारे जानकारी लिइएको थियो।

निरीक्षणका क्रममा स्थानीयहरूसँग अन्तरक्रिया गर्दै सीमा अस्पष्टताका कारण उत्पन्न समस्या, खेतीयोग्य जमिनमा देखिएको अन्योल र सुरक्षासम्बन्धी चुनौतीबारे छलफल गरिएको थियो।

सांसद महताले सीमा विवाद दीर्घकालदेखि समाधान हुन नसक्दा स्थानीय नागरिकहरूले सास्ती भोग्नु परेको उल्लेख गर्दै सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखेर कूटनीतिक तथा प्राविधिक दुवै माध्यमबाट समाधान गर्नुपर्ने बताए। उनले स्थलगत निरीक्षणले वास्तविक समस्या पहिचान गर्न सहयोग पुग्ने र यसले समाधानको बाटो खुल्ने विश्वास व्यक्त गरे।

नापी विभागका अनुसार स्थलगत अध्ययनबाट प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार गरी आवश्यक समन्वयका लागि सम्बन्धित निकायमा पेश गरिनेछ। यसले दीर्घकालीन रूपमा सीमा विवाद समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित