बेलडाँडी । बेलडाँडी गाउँपालिकाको शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) नतिजा सार्वजनिक भएको छ । यस वर्षको नतिजामा कञ्चन ग्यालेक्सी पब्लिक स्कुल पालिकाभर प्रथम बन्न सफल भएको छ । विद्यालयले २० जना सहभागीमध्ये १७ जना विद्यार्थी ग्रेडेड गराउँदै ८५ प्रतिशत नतिजा हासिल गरेको हो ।
त्यस्तै, मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल ले ६२.५० प्रतिशत र बेलडाँडी नवज्योती पब्लिक स्कुल ले ६० प्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सामुदायिक विद्यालयतर्फ सरस्वती जनता मावि ले ४३.६८ प्रतिशत नतिजासहित उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ भने वैजनाथ मावि ले ३७.०४ प्रतिशत र सरस्वती मावि ले ३५.१४ प्रतिशत नतिजा ल्याएका छन् ।
यस वर्ष बेलडाँडीका ९ विद्यालयबाट कुल ३५७ विद्यार्थी SEE परीक्षामा सहभागी भएका थिए । तीमध्ये ११८ जना विद्यार्थी ग्रेडेड भएका छन् भने समग्र वर्गीकृत प्रतिशत ३३.०५ रहेको छ । गत वर्ष २९५ विद्यार्थीमध्ये १०९ जना ग्रेडेड हुँदै ३६.९४ प्रतिशत नतिजा आएको थियो । यस वर्ष सहभागी र ग्रेडेड विद्यार्थी संख्या बढे पनि समग्र प्रतिशत केही घटेको देखिएको छ ।
विश्लेषणअनुसार निजी विद्यालयहरूले उल्लेखनीय सुधार गरेका छन् भने केही सामुदायिक विद्यालयको नतिजामा गिरावट देखिएको छ । विशेषगरी रौलेश्वर मावि, गणेश मावि र सिद्धनाथ मावि को नतिजा अपेक्षाभन्दा कमजोर देखिएको छ ।
शिक्षाको गुणस्तर सुधार, नियमित अध्ययन, शिक्षक, अभिभावक समन्वय तथा विद्यार्थीको मेहनतलाई अझ प्रभावकारी बनाउन सके आगामी वर्ष अझ राम्रो नतिजा आउने स्थानीयको अपेक्षा रहेको छ ।























Discussion about this post