नेपालमा ब्रेन ट्युमरका बिरामी १५.४ प्रतिशतले बढे, वीर अस्पतालले असार १६ सम्म निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौँ । नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सोमबार वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा ब्रेन ट्युमरका बिरामी १५.४ प्रतिशतले बढेका छन्।

देशभरका २० भन्दा बढी न्युरो केन्द्रहरूको तथ्यांक समेटेर गरिएको अध्ययनअनुसार आर्थिक वर्ष २०८२ मा करिब ३ हजार जनाले ब्रेन ट्युमरको उपचार गराएका छन्। अध्ययनले पुरुष र महिला दुवै समान रूपमा प्रभावित भएको देखाएको छ। कुल बिरामीमध्ये ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला रहेका छन् भने बिरामीहरूको औसत उमेर ४६ वर्ष रहेको छ।

तथ्यांकअनुसार ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएका छन्। भौगोलिक रूपमा बागमती प्रदेशबाट ३६.४ प्रतिशत बिरामी उपचारका लागि आएको देखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा उपचार सेवाको पहुँच अझै कमजोर रहेको केन्द्रले जनाएको छ।

अध्ययनले उच्च–ग्रेड ग्लियोमाका बिरामी ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको देखाएको छ, जसले अधिकांश बिरामी रोग जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गरेको संकेत गरेको छ। यद्यपि मेनिन्जियोमाको हिस्सा ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेको तथा ग्रेड–३ मेनिन्जियोमामा १५ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ स्नायु तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा. डा. राजीव झाले प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिने बताए। उनले ब्रेन ट्युमरबारे जनचेतना बढाउनु आवश्यक रहेको उल्लेख गरे।

विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालले असार १६ गतेसम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको छ। विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको अस्पतालले जनाएको छ।

दिवसका अवसरमा सोमबार काठमाडौँमा जनचेतनामूलक प्रभातफेरी समेत आयोजना गरिएको थियो। साथै नेपालमा न्युरोअन्कोलोजी सेवामा पुर्‍याएको योगदानको कदर गर्दै डा. चन्द्रधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्युरोअन्कोलोजी केयर–२०२६’ सम्मान प्रदान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित