कञ्चनपुर । सरकारले निजी सञ्चारमाध्यमप्रति गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल गेटमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
महासंघले देशव्यापी आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार एक घण्टे धर्ना दिएको हो। धर्नामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेशसिंह धामीले सरकारले निजी सञ्चारमाध्यममाथि लगाएको अंकुशले नागरिकको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि नै प्रहार गरेको टिप्पणी गरे।
“सरकारको पछिल्लो निर्णयले नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको देखिन्छ,” अध्यक्ष धामीले भने, “लोकतन्त्रको सुदृढीकरण र नागरिक अधिकारको संरक्षणका लागि निजी सञ्चारमाध्यमको प्रवर्द्धन आवश्यक छ। सरकारले गरेको विभेदकारी निर्णय फिर्ता नलिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।”
महासंघका सचिव कुन्दनराज पाण्डेले सञ्चालन गरेको कार्यक्रममा प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको अधिकार र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका पक्षमा ऐक्यबद्धता जनाइएको थियो।
सरकारले निजी सञ्चारमाध्यमप्रति अपनाएको विभेदकारी नीतिको विरोधमा कञ्चनपुरसहित देशभरका पत्रकार महासंघ शाखाहरूले आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।
पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारलाई आफ्ना निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।





















Discussion about this post