गणेश नेपाली मृत्यु प्रकरणः कैलाली मा विरोध सभा, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

कैलाली । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सामाजिक न्यायका लागि दलित गोलमेच अभियानले आइतबार कैलालीको धनगढीमा विरोध सभा आयोजना गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित विरोध सभामा सहभागीहरूले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर देशभर आलोचना र विरोध भइरहेका बेला सुदूरपश्चिममा पनि विभिन्न संघ–संस्थाले न्यायको पक्षमा आवाज उठाउन थालेका छन्।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राज्यको गैरजिम्मेवार व्यवहारका कारण यस्ता दुःखद घटना दोहोरिने गरेको आरोप लगाए। उनले पीडितलाई न्याय दिलाउन सम्पूर्ण दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

रैकाले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरे। उनले सुकुम्बासी समस्याप्रति सरकार उदासीन बनेको आरोपसमेत लगाए।

विरोध सभामा सहभागीहरूले महानगर प्रहरीको भूमिकामाथि समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै यस्ता घटनाले विशेषगरी युवा पुस्तामा नकारात्मक प्रभाव पार्ने भएकाले राज्य थप जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।

विरोध सभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै सहभागीहरूले गणेश नेपाली मृत्यु प्रकरणमा न्याय नपाएसम्म आन्दोलन र संघर्ष जारी रहने चेतावनीसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित