ट्राफिक जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत भत्ता दिने हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले काटेको जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले जरिवाना रकमबाट अतिरिक्त सुविधा पाउने भन्ने आशयका सामग्री प्रकाशन तथा प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिअनुसार ट्राफिक नियम उल्लंघन गरेबापत असुल हुने जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको छ। उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै प्रकारको अतिरिक्त शुल्क, सुविधा वा विशेष भत्ता पाउने कानुनी व्यवस्था नरहेको नेपाल प्रहरीले स्पष्ट गरेको छ।

नेपाल प्रहरीले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार वा टिप्पणी प्रकाशन तथा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउन सक्ने जनाएको छ।

त्यसैले यस्ता अपुष्ट, भ्रामक र तथ्यहीन सूचना प्रचार-प्रसार नगर्न तथा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न नेपाल प्रहरीले सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालासँग अनुरोध गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिम्मेवार र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित