पुनर्वास,
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा रहेको प्याराताल संरक्षण र प्रवर्द्वनको पर्खाइमा रहेको छ ।
संरक्षण र प्रवर्द्वनको अभावमा ओझेलमा पर्दै आएको छ । आफ्नो भूमिमा पर्ने भन्दै भारतीय पक्षले विगत लामो समयदेखि विवाद सिर्जना गर्दै आएको सो ताल पछिल्लो समय संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको हो ।
तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल स्थानीय तहले तालमा माछा मार्ने ठेक्का दिँदै आएकामा भारतीय पक्षले तालमा आफ्नो पनि स्वामित्व दाबी गरेर बखेडा झिकिएको थियो । माछा मार्ने ठेक्का पाउने ठेकेदारले भारतीय पक्षलाई पनि ५० प्रतिशत माछा दिँदै आएको थियो ।
जलकुम्भीले ताल पुरिँदै गर्दा सरोकारवाला निकायले कुनै चासो नदेखाएको पुनर्वास ९ बिचफाँटा वासी बताउछन् । विसं २०६१÷६२ मा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयवासीको भनाइ छ । झण्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छैन् ।
विसं २०२२ देखि जिल्ला विकास समिति कञ्चनपुरले माछा मार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त ताल आफ्नो भूमिमा पर्ने भन्दै बखेडा झिक्दै आएको स्थानीयवासीको भनाइ छ । तालभन्दा करिब ३०० मिटर दक्षिण नेपाल–भारत सीमा स्तम्भ अझै पनि छन् ।
पूर्व–पश्चिम करिब तीन किलोमिटर लम्बाइमा फैलिएको सो तालमा स्थानीय सरकार आए पनि पुर्नबास नगरपालिकाले माछा मार्न ठेक्का दिन थालेको हो । स्थानीयवासीका अनुसार तालभन्दा करीब ५०० मिटर दक्षिणसम्म नेपाली भूमि रहेपनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । माछाको ठेक्का पाएका स्थानीयवासीले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको दुःखेसो पोखे ।
पर्यटकीय र जलाधार क्षेत्रको महत्वपूर्ण सम्भावना बोकेको यस ताल पछिल्लो समय स्थानीय तहले संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोज स्थल बनाइएको छ । प्याराताल क्षेत्रको पारी (दशगजा) क्षेत्रमा पर्ने साविक सीमास्तम्भ नं १९५ अझै तालभन्दा वर जङ्गलमै मर्मत सम्भारको पर्खाइमा छ भने १९६ सीमास्तम्भ लामो समयदेखि हराएको छ ।
पुनर्वास नगरपालिकामै पर्ने आनन्द बजारमा सीमास्तम्भ नं २०० छैन । भारतले सो क्षेत्रमा एउटा रुखलाई सीमास्तम्भ मानी त्यसैलाई दाबी गर्दै आइरहेको छ । सीमास्तम्भ १९६ देखि सीमास्तम्भ नं २०० सम्म नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद हुने गरेको छ ।
Discussion about this post