शुक्लाफाँटा उत्खनन्  प्रकरण स्थानीय संग सहमति

कञ्चनपुर,

शुक्लाफाँटा नगरपालिकाको नदीजन्य  उत्खनन् प्रकरण स्थानीय संग सहमति भएको छ।

नगरपालिका प्रभावित क्षेत्रका स्थानीयबासिन्दा र ठेकेदार पक्षबीच ४ बुँदे सहमतिपछि विवाद समाधान भएको हो ।शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र पिल्लरीफाँटाका स्थानीय र ठेकेदारबीच नदीजन्य पदार्थ उठाउने विषयमा सहमति भएपछि संकलन कार्य थालिएको छ।

नगरपालिकाले वडा नम्बर ८ को प्रभावित क्षेत्र बेलडाँडी र पिल्लरीफाँटालाई सम्बोधन गर्ने विषयमा सहमति भएसँगै प्रभावित क्षेत्रका स्थानीयले नदीजन्य पदार्थ उत्खनन् गर्न दिने जनाएका छन्।

नगरपालिकाले बनहरा नदी र अनौखी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा र माटो उठाउनको लागि गणपति कन्सट्रक्सन प्रालिसँग ६८ लाख १४ हजारमा ठेक्का सम्झौता गरेको थियो।तर, स्थानीयको अवरोधका कारण केही दिन यता नदीजन्य पदार्थ संकलन हुन सकिरहेको थिएन।

नगर प्रमुख रणबहादुर महरा, उपप्रमखु कल्पना पन्त, विभिन्न वडाका वडाध्यक्ष, स्थानीयसँगै समाजका अगुवाहरूको त्रिपक्षीय सहमति जुटेपछि अब ढुङ्गा, गिट्टी, बालुवा तथा माटो उठाउनका लागि सहज हुने कन्सट्रक्सनका प्रोपराइटर लोकेन्द्र विष्टले बताए।

प्रभावित क्षेत्रमा निरन्तर रूपमा तटबन्ध कार्य अघि बढाउने र सो कार्य ठेक्का सँगसँगै अगाडि बढ्ने गरी सहमति भएको छ । यस्तै धुलाम्ये सडकमा पानी छर्किने व्यवस्था गर्न ठेकेदार सहमत भएका छन्।

कलुवापुर–पिल्लरीफाँटा सडक खण्ड कालोपत्रेको ठेक्का भइसकेकाले यथासिघ्र काम सञ्चालनका लागि नगरपालिकाले पहल गर्ने नगर प्रमुख रणबहादुर महराले बताए। महराले प्रभावित क्षेत्रका स्थानीयसँग सहमति भइसकेको जानकारी दिए।

उनले नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि आह्वान गरिएको ठेक्का बनहरा र अनौखी खोलाको मात्रै भएको बताउँदै केही व्यक्तिहरूले अन्यत्रका जनतालाई उचालेर आन्दोलनमा आएको समेत बताए।

यही पौष १४ गते प्रभावित क्षेत्रका जनताको न्यूनतम मागहरू समेत सम्बोधन नगरेर बनहरा नदी, मणिकाधाम टोल, बेलडाँडी, अनौखी खोला, धारापानी खोला, गौडी खोला र सुनवरा नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का प्रक्रिया अघि बढाएको भन्दै शुक्लाफाँटा ८ पारिफाँटाका रुकुमसिंह ठगुन्नाको संयोजकत्वमा तीन सदस्यीय नदीजन्य पदार्थ उत्खनन् संघर्ष समिति गठन गरिएको थियो।

नगरकै हितका लागि कार्य गरिरहेको बताउँदै महराले सबैसँग मिलेर, सहकार्य, समन्वय गरेर सुरुवाती दिनदेखि नै अघि बढ्न खोजिरहेको बताए।

उनले सोमवार मात्रै सर्वदलीय बैठक बोलाएर यससँगै नगरका अन्य सार्वजनिक सरोकारका विषयमा छलफल गर्दै राय लिएका थिए। त्यसक्रममा उनले सबैको सल्लाहअनुसार नै नगरको समृद्धिका लागि कटिबद्धताका साथ लाग्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित