बेलडाँडी । हिन्दूहरूको महान् पर्व वडा दशैँको अवसर पारेर बेलडाँडीमा पहिलो पटक आयोजना गरिएको प्रथम फुटबल महोत्सव आज घटस्थापनाको दिनदेखि भव्य रूपमा सुरु भएको छ । दशैँको रौनकलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन बेलडाँडी फुटबल एकेडेमीले महोत्सवको आयोजना गरेको हो ।
रौलेश्वर माविको प्राङ्गणमा भएको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले उद्घाटन गर्दै शुभकामना व्यक्त गरेका थिए । यसअघि एकेडेमीले विशेष कार्यक्रममार्फत आकर्षक ट्रफी सार्वजनिक गरिसकेको थियो ।
उद्घाटन खेलमा अल स्टार युवा क्लब रातो र झिलमिला युवा क्लब ‘बि’ बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता असोज १५ गते भव्य समापनसँगै सम्पन्न हुने छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष रानाले खेलकुदलाई मात्र नभई समग्र बेलडाँडीको हितमा योगदान पुग्ने महोत्सव भएको उल्लेख गर्दै, यसले भाइचार र सद्भाव मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । पालिकाले आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
बेलडाँडी फुटबल एकेडेमीका अध्यक्ष केशब बिष्टका अनुसार आयोजकसहित १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । दशैँको अवसर पारेर बेलडाँडीमा हरेक वर्ष खेलकुद गतिविधि हुँदै आएको भए पनि यसपालि बेलडाँडी फुटवल एकेडेमी दर्ता भई औपचारिक रूपमा पहिलो पटक आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमलाई २५ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, फरवार्ड, गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पनि विशेष सम्मानको व्यवस्था गरिएको छ।
दशैँको उल्लाससँगै सुरु भएको यो फुटबल महोत्सवले बेलडाँडी मात्र नभई आसपासका गाउँबस्तीलाई खेलमैत्री र उत्सवमय बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ। स्थानीयको उत्साह र व्यापक सहभागिताले यसलाई अझ भव्य र ऐतिहासिक बनाउने विश्वास लिइएको छ ।






















Discussion about this post