डिल्लीराज पन्त/कञ्चनपुर । नयाँ वर्षको शुभारम्भकै दिन कञ्चनपुर कारागारको अनुगमन तथा निरीक्षण गरिएको छ।
कञ्चनपुर क्षेत्र नम्बर ३ का माननीय प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताले कारागारको भौतिक अवस्था, बन्दीहरूको जीवनयापन, स्वास्थ्य सेवा, सरसफाइ तथा व्यवस्थापनको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा उहाँले कारागारभित्र देखिएका प्रमुख समस्याहरू-अत्यधिक भीडभाड, पर्याप्त स्वास्थ्य सेवाको अभाव, खानेपानी तथा सरसफाइ सम्बन्धी चुनौती—प्रति गम्भीर ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न अनुरोध गर्नुभयो।
माननीय महताले नयाँ वर्षले सुधार, परिवर्तन र सकारात्मक सुरुवातको सन्देश दिने उल्लेख गर्दै कारागारलाई सजाय भोग्ने थलो मात्र नभई सुधार र पुनर्स्थापनाको केन्द्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले बन्दीहरूको मानवअधिकार संरक्षण, सीपमूलक तालिम तथा पुनःस्थापनामुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, कारागार प्रशासनसँग आवश्यक स्रोत–साधनको अभाव, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विस्तारका विषयमा समेत जानकारी लिँदै सुधारका लागि आवश्यक पहल गर्ने बताउनुभयो।
निरीक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कारागारको अवस्था र कैदीबन्दीको सुरक्षासम्बन्धी विषयमा आफूले प्राप्त रिपोर्टहरू विभागमा निरन्तर जानकारी गराउँदै आएको बताउनुभयो।
यसैगरी कारागारका जेलर हेमन्ती साउदले विगतमा कारागारभित्र भएको दुःखद घटना केही कैदीबन्दीबीचको असमझदारीका कारण भएको उल्लेख गर्दै अब उप्रान्त यस्ता घटनाप्रति विशेष सजग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।






















Discussion about this post