सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगरले कीर्तिमानी रन बनाउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याउँदै उतरेको पोखरा एभेन्जर्स १८.५ ओभरमै १६७ रनमा समेटियो र ५३ रनले पराजित भयो।
पहिल्लो इन्निङमा विराटनगरले ६ विकेटको क्षतिमा एनपिएल इतिहासकै सर्वाधिक २२० रन जोड्यो। ओपनर लोकेश बम (७२) र विदेशी स्टार मार्टिन गप्टिल (६१) ले दोस्रो विकेटका लागि १३२ रनको ठुलो साझेदारी गर्दै विशाल योगफल बनाएका थिए। अन्तिमतिर शुभम रन्जनेले १६ बलमा ३८ रनको धमाकेदार पारी खेले।
लक्ष्य पछ्याउने क्रममा पोखराले रोसिङटन (३९) र कप्तान कुशल भुर्तेल (५९) को आक्रमक सुरुआतबाट आशा जगाए पनि बीच क्रममा पाँच बलको अन्तरमा तीन विकेट गुमाएपछि आफ्नो लय गुमायो। विराटनगरका सन्दीप लामिछाने, मार्स्याङ डी लाङग, शुभम रन्जने र प्रतिश जिसीले समान २–२ विकेट लिए।
यससँगै विराटनगर एनपिएलमा २०० रन पार गर्ने पहिलो टोली बनेको छ। एनपिएलमा भोलि एक मात्र खेल हुनेछ जहाँ अपरान्ह ४ बजे काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।





















Discussion about this post