बिकाश सिंह महता/ढाका, बंगलादेश- एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ को सुरुवात भएसँगै नेपालले आफ्नो पहिलो खेल उज्बेकिस्तानसँग खेल्ने तय भएको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा रंगशालामा आयोजना भइरहेको प्रतियोगितामा नेपालले शनिबार (माघ २६, फेब्रुअरी ८) बिहान ११:३० बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल एम्पुटी फुटबल टिम पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेको छ। टिम कप्तान डिल्ली बहादुर बिष्टका अनुसार नेपालले लिग चरणमा चार खेल खेल्नेछ। उनले नेपाललाई प्रतिस्पर्धी टिममध्ये बलियो टिम मान्दै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
नेपालले दोस्रो खेल माघ २७ गते बिहान ११:३० बजे बंगलादेशसँग, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग, र अन्तिम खेल माघ २९ गते दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्नेछ।
एम्पुटी फुटबल शारीरिक अपाङ्गता भएका (एउटा खुट्टा वा एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो। एम्पुटी खेलकुद समाज नेपालले पहिलोपटक राष्ट्रिय टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाएको हो।
समाजका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले नेपालका लागि यो ऐतिहासिक अवसर रहेको बताए।
नेपाल टिममा १३ खेलाडी र ७ अफिसियलसहित २० सदस्यीय टोली माघ २२ गते मंगलबार बंगलादेश प्रस्थान गरेको थियो। टिमका खेलाडीहरूमा डिल्ली बहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंहल रहेका छन्। टिमको कप्तानी डिल्ली बहादुर विष्टले सम्हाल्ने छन्।
नेपाल टिमका प्रशिक्षक चत्रबहादुर तामाङले टिमको तयारी राम्रो भए पनि प्रशिक्षणका लागि छोटो समय पाएको बताए। उनले पहिलो खेलमा आक्रमक शैलीमा खेल्ने रणनीति रहेको र जित निकाल्ने लक्ष्य लिएको जानकारी दिए।
एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा कुल ६ टिम सहभागी हुने भनिएकोमा इरानको अनुपस्थितिले ५ राष्ट्रबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा उज्बेकिस्तानले इन्डोनेसियालाई ८-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली सुरुवात गर्यो। त्यस्तै, दोस्रो खेलमा इराकले बंगलादेशलाई ६-० गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गर्यो।
नेपालको पहिलो खेल शनिबार उज्बेकिस्तानसँग हुने भएकाले टिम उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ। प्रशिक्षक तामाङका अनुसार नेपालले खेलमा उच्च प्रदर्शन गर्दै सुखद नतिजा निकाल्ने लक्ष्य राखेको छ।



















Discussion about this post