बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलमा एक १७ वर्षीया युवती आइतवार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । मृत फेला पर्ने युवती सम्झना भट्ट आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
सम्झना भट्टको फागुन महिनामा पवन भट्टसँग विवाह भएको थियो। प्रहरीका अनुसार विवाहपूर्व नै उनीहरूबीच सम्बन्ध रहेको बुझिएको छ। सम्झनाका बुवा भोजराज भट्टका अनुसार सम्बन्ध सार्वजनिक भएपछि परिवारले सामाजिक बेइज्जतीको डरले विवाह गराइदिएका थिए।
विवाह पश्चात् पवन र सम्झनाबीचको सम्बन्धमा केही समयदेखि तिक्तता देखिन थालेको थियो । झुण्डिएको अघिल्लो दिन उनीहरूबीच विवाद चर्किएपछि दुवै जना बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयमा पुगेका थिए । प्रहरीले दुवैलाई समझाइबुझाइ गरी घर फर्काएको थियो । सो क्रममा पवनले सम्झनालाई मानसिक समस्या रहेको, झर्किने, र गाली गर्ने व्यवहार देखिएको भन्दै प्रहरीसमक्ष बताएको थियो ।
तर, घटनाको भोलिपल्ट सम्झनाले आफन्तलाई म्यासेज पठाउँदै “श्रीमानले दुःख दिइरहेका कारण अब बाँच्न सक्दिन“ भन्ने आशयको सन्देश दिदै डोरीमा झुण्डिने बेला आफन्तसँग भिडियो कल समेत गरेको स्रोतले जनाएको छ ।
सम्झनाको शरिरमा चोटपटक देखिएकाले र मृत्यु रोज्न बाध्य पारिएको शंकास्पद मान्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनका श्रीमान पवन भट्टलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिएका छन् ।
सम्झनाका बुवा भोजराज भट्टले छोरीलाई पटक–पटक मानसिक र शारीरिक यातना दिएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। “उमेरले सानी छोरीलाई साथ र सान्त्वना दिनुको सट्टा उल्टै सबै खनिए, हामी न्याय चाहन्छौं,“ उनले भने। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।





















Discussion about this post