काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन सौराहामा भइरहेको विस्तारित बैठकमा डा. तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै पार्टीकी केन्द्रीय सदस्य निशा डाँगीले तीव्र आपत्ति जनाएकी छन्।
शुक्रबारदेखि सुरु भएको बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा तोसीमाले बोल्न समय मागेकी थिइन्। तर, सभाले अनुमति नदिएपछि निशा डाँगीले तोसीमाको पक्षमा आवाज उठाउँदै ‘तोसीमालाई बोल्ने अवसर दिनुपर्छ’ भन्दै सभामुखतिर माग राखेकी थिइन्।
कार्यवाहक सभापति बोलिरहँदा बीचमा तोसीमा उठेर समय मागेपछि महासचिव कविन्द्र बुर्लाकोटी स्वयं उनको सिटमा पुगेर कुरा सुनेका थिए। तर बैठकको औपचारिक कार्यसूचीका कारण तत्काल अवसर नदिइएको बताइएको छ।
बैठकमा सहभागी केही नेताहरूले भने डा. तोसीमाको व्यवहारलाई “अपरिपक्व” भन्दै आलोचना गरेका छन्। उनीहरूले प्रतिवेदनमाथि समूहगत छलफलको क्रममा तोसीमाले आफ्नो धारणा राखिसकेको दाबी गरेका छन्।
यद्यपि, पार्टीभित्रका केही सदस्यहरू भने तोसीमाको आवाज थिचिएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्। तोसीमाले छुट्टै प्रतिवेदन तयार पारेकी थिइन् भन्ने चर्चा भए पनि हालसम्म सो प्रतिवेदन प्रस्तुत गरिएको छैन।
चितवनको सौराहामा भइरहेको रास्वपाको विस्तारित बैठक आज साँझ सकिँदैछ।





















Discussion about this post