वेदकोटमा तीन पाङ्ग्रे सवारी दर्ता अनिवार्य, २१ दिनभित्र दर्ता गर्न सूचना

वेदकोट, कञ्चनपुर। वेदकोट नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारी साधन (अटो तथा विद्युतीय रिक्सा) दर्ता अनिवार्य गर्ने निर्णय गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सवारी धनीहरुलाई आग्रह गरेको हो।

नगरपालिकाको सार्वजनिक सवारी तथा यातायात व्यवस्थापन ऐन, २०८१ को दफा (४) अनुसार स्थानीय यातायातको मार्ग निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर र भाडा दर नियमनका लागि दर्ता अनिवार्य व्यवस्था गरिएको जनाइएको छ।

सूचनामा भनिएको छ, “वेदकोट नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सम्पूर्ण अटो तथा विद्युतीय रिक्सा सवारी धनीहरुले आफ्ना सवारी साधन दर्ता गरी सञ्चालन अनुमति लिनु पर्नेछ।” यसका लागि सवारी धनी स्वयं तोकिएका कागजातसहित उपस्थित हुनुपर्ने जनाइएको छ।

नगरपालिकाले अन्य पालिका वा कार्यालयमा दर्ता भई हाल वेदकोट क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक वा निजी तीन पाङ्ग्रे सवारी साधनले पनि सरुवा दर्ता गर्नुपर्ने जनाएको छ। सरुवा दर्ताका लागि सम्बन्धित कार्यालयको सहमति पत्र र अभिलेख (फाइल) ल्याउनुपर्नेछ।

दर्ताका लागि आवश्यक कागजातहरूमा सवारी धनीको निवेदन, नागरिकता प्रमाणपत्र, अख्तियारनामा (अरुलाई खटाएको भए), सवारी प्रदूषण मापदण्ड प्रमाणपत्र, बिमा कागज, भन्सार प्रज्ञापनपत्र र महसुल रसिद, आयातकर्ताको दर्ता प्रमाणपत्र, आयकर तथा VAT प्रमाणपत्र, सवारी सक्षमता प्रमाणपत्र, चेचिस र इन्जिन नम्बर देखिने फोटो, र सडक मर्मत दस्तुर लगायतका विवरण माग गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले हस्ताक्षर गरेको सूचनामा दर्ता नगराइ सञ्चालनमा रहेका सवारी साधनहरुमाथि कारबाही गरिने चेतावनीसमेत दिइएको छ। वेदकोट नगरपालिकाले सार्वजनिक यातायात सेवाको व्यवस्थापन र नियमन सुदृढ बनाउन यो प्रक्रिया लागू गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित