बेलौरी : बेलौरीमा १६औँ संस्करणको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित बेलौरी नगर खेलकुद समितिको आयोजनामा मंगलबार प्रतियोगिताको उद्घाटन गरिएको हो।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा आत्मिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। खेलकुदले सिकाइमा ताजापन ल्याउने उल्लेख गर्दै उहाँले खेलाडी भाइबहिनीहरूको क्षमता अभिवृद्धि र उज्ज्वल भविष्यका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्कबहादुर भूलले सीमित स्रोत–साधनका बाबजुद विगतका वर्षहरूमा बेलौरीबाट छनोट भएका खेलाडीहरूले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा समेत आफ्नो प्रतिभा प्रदर्शन गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले यस वर्ष पनि प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले पालिकाको नाम उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन समारोहअन्तर्गत भएको मार्चपास प्रतियोगितामा पशुपति शिक्षा मन्दिर रतनपुर प्रथम, एजी बोर्डिङ स्कुल सडकघाट द्वितीय र जन नमुना माध्यमिक विद्यालय रामनगर तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
पौष १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी माध्यमिक तहका २५ विद्यालयका छात्र–छात्राको सहभागिता रहेको नगर खेलकुद समितिले जनाएको छ। प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, कराँते, तेक्वान्दो तथा एथलेटिक्स विधाका खेलहरू समावेश गरिने नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो।
बेलौरीको खुलामञ्चमा आयोजित उद्घाटन कार्यक्रम नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्कबहादुर भूल तथा अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझा, शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।





















Discussion about this post