न्यायको पर्खाइमा थाकेका आरक्ष पीडितका आँखा, जनक धामीतर्फ

कञ्चनपुर । शुक्लाफाँटा आरक्षको छेउछाउमा बसेका ती अनुहारहरू थाकेका छन्, आँखामा पीडाको इतिहास छ। २४ वर्षदेखि न्यायको पर्खाइमा रहेका आरक्ष विस्थापितहरूका लागि जीवन आज पनि सुरक्षित छैन। तर जब प्रतिनिधि सभा सदस्य उम्मेदवार जनक सिंह धामी त्यहाँ पुगे, पीडाले भरिएका ती अनुहारमा क्षणभर भए पनि आशाको झिल्को देखियो। उनीहरू भन्छन्, “अबको आशा तपाईँमै छ।”

२०५८ सालदेखि कञ्चनपुरका विभिन्न ठाउँबाट विस्थापित गरिएका यी परिवारहरूको कथा केवल विस्थापनको होइन, राज्यबाट निरन्तर उपेक्षाको कथा हो। कति सरकार फेरिए, कति नेताले आश्वासन दिए, तर उनीहरूको जीवन आज पनि असुरक्षित जंगलको छायामा अड्किएको छ। उनीहरू खुलेर भन्छन्, पुराना दलले हामीलाई भोट बैंक बनाए, समाधान कहिल्यै आएन। त्यसैले अब नयाँ सोच, नयाँ अनुहार र नयाँ जिम्मेवारीप्रति आशा जागेको छ।

शनिबार राति लालझाँडी गाउँपालिका-६ मा घटेको हृदयविदारक घटनाले उनीहरूको पीडालाई फेरि एकपटक चर्काइदियो। रातको निद्रामै जंगली हात्तीको आक्रमणमा परी ६ वर्षीया बालिका रोजिना साँउदको घटनास्थलमै ज्यान गयो। उनकी ५५ वर्षीया बज्यै पार्वती साँउद गम्भीर घाइते भइन्। यो खबर सुन्नासाथ जनक धामी घटनास्थल पुगे। त्यहाँको सन्नाटा, आँसु र आक्रोशबीच स्थानीयले एउटै कुरा दोहोर्‍याए, “हाम्रो जीवन २४ वर्षदेखि खुकुरीको धारमा छ।”

स्थानीयवासीहरू भन्छन्, “हामी घरबारविहीन छौँ, जंगलमै रात काट्छौँ। हात्ती आउँछ, मान्छे मर्छन्, घर भत्किन्छन्। तर हाम्रो पीडालाई सुनिदिने कोही छैन।” उनीहरूले सरकारहरूले ३३ वटा आयोग बनाए पनि आफूहरूको जीवनमा कुनै परिवर्तन नआएको गुनासो गरे।

ढक्का शिविरमा ६ सय ४ परिवार बसिरहेका छन्। बस्नलाई सुरक्षित घर छैन, उज्यालो छैन। २४ वर्षदेखि अँध्यारोमा बाँचिरहेका यी परिवारका बालबालिकाको भविष्य पनि अन्धकारमै हराउँदै गएको छ। पढाइ प्रभावित छ, खोप र भिटामिनसम्म नपाएको पीडा उनीहरूको छ। “हाम्रो भोट मात्र चल्छ, अरू केही चल्दैन,” भन्ने वाक्यले उनीहरूको पीडाको गहिराइ बयान गर्छ।

यहाँ खेती गर्न पनि निकुञ्जको अनुमति चाहिन्छ। गहुँ थ्रेसिङदेखि जोत्नेसम्म राज्यको नियन्त्रण छ, तर संरक्षण भने छैन। यस्तो अवस्थाबाट मुक्ति दिलाइदिने जिम्मेवारी कसले लिन्छ भन्ने प्रश्नमा उनीहरू जनक सिंह धामीतर्फ फर्किएका छन्।

धामीले दिवंगत बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। धनगढीमा उपचाररत पार्वती साँउदको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। उनले भने, “राज्यले चाहे यो समस्या समाधान हुन धेरै समय लाग्दैन। तर आरक्ष पीडितलाई भोट बैंक बनाउने प्रवृत्तिले २४ वर्षसम्म अँध्यारोमै राखियो।”

“मलाई जिम्मेवारी दिनु भयो भने यो पीडाको अन्त्यका लागि इमानदार प्रयास गर्नेछु,” धामीको प्रतिबद्धताले विस्थापितहरूमा फेरि एकपटक आशाको दीप बलेको छ। दुख र पीडाको बीचमा पनि जनक धामीलाई बस्तीमै स्वागत गर्न पाउँदा आरक्ष विस्थापितहरू भन्छन्, सायद यसपटक हाम्रो आवाज साँच्चै सुन्ने कोही आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित