कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा परम्परागत रूपमा प्रभावशाली मानिँदै आएका काँग्रेस, एमाले र नेकपाभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलियो देखिन थालेको छ। रास्वपाका उम्मेदवार जनक सिंह धामी चुनावी मैदानमा सक्रिय भएसँगै यहाँको राजनीतिक माहोल उल्लेखनीय रूपमा परिवर्तन भएको छ।
स्थानीय तहदेखि संघीय तहसम्म लामो समयदेखि मुख्य दलहरूको पकड रहेको यस क्षेत्रमा पछिल्लो समय मतदाताबीच वैकल्पिक शक्तिप्रति आकर्षण बढ्दो छ। पुराना दलहरूको कार्यशैलीप्रति असन्तुष्टि, विकासका अधुरा प्रतिबद्धता, बेरोजगारी र सुशासनको अभावजस्ता मुद्दाले मतदातालाई नयाँ विकल्प खोज्न प्रेरित गरेको देखिन्छ।
यही पृष्ठभूमिमा उदाएको रास्वपाले “नयाँ सोच, नयाँ विचार र स्पष्ट मिसन-भिजन” लाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। देशभर देखिएको जेनजी आन्दोलन र त्यसबाट सिर्जित राजनीतिक दबाबका कारण निम्तिएको निर्वाचनले पनि नयाँ शक्तिलाई अवसर प्रदान गरेको विश्लेषण भइरहेको छ।
रास्वपाका उम्मेदवार धामीले घरदैलो अभियानलाई तीव्रता दिँदै शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, युवा रोजगारी र पारदर्शितामूलक शासनको विषयलाई प्राथमिकतामा राखेका छन्। उनी स्थानीय रूपमा स्वच्छ छवि र सामाजिक सक्रियताका कारण चिनिन्छन्।
बेलडाँडी, लालझाडी, पुनर्वास र बेलाैरी नगरपालिकाका विभिन्न वडामा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ को चर्चा उल्लेखनीय रूपमा बढेको स्थानीय बासिन्दाहरू बताउँछन्। विशेषगरी युवा र पुराना राजनिती दलदेखि दिक्क मानेका मतदाताबीच रास्वपाप्रति उत्साह देखिएको छ।
उता प्रमुख दलहरूले पनि आफ्नो चुनावी रणनीति पुनरावलोकन गर्दै प्रचार अभियानलाई तीव्र बनाएका छन्। परम्परागत संगठन संरचना र पुराना कार्यकर्ताको आधारमा उनीहरू प्रतिस्पर्धामा टिकिरहन प्रयासरत छन्।
कञ्चनपुर-१ मा यसपटकको प्रतिस्पर्धा पुराना र नयाँ राजनीतिक धारबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। मतदाताको अन्तिम निर्णयले मात्र वास्तविक शक्ति सन्तुलन स्पष्ट हुने भए पनि वर्तमान चुनावी गतिविधि र जनसहभागिताले यहाँको प्रतिस्पर्धा रोचक बन्दै गएको संकेत दिएको छ।




















Discussion about this post