कञ्चनपुर । वैवाहिक जीवनमा बाँधिएको दुई सातामै कञ्चनपुरकी एक युवती मृत फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका-७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
बिन्दुको विवाह १४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका-७ मटैयाकटानकी उनीसँग शुक्लाफाँटा नगरपालिका-७ कालापानीका २९ वर्षीय भीम धामीसँग मागी विवाह भएको थियो। तर विवाह भएको १४ दिनमै अर्थात २७ फागुनमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि घटना शंकास्पद बनेको छ।
मृतक बिन्दुकी हजुरआमा तारा धामीले विवाहको खुसी साट्न नपाउँदै नातिनीको मृत्यु भएको खबरले परिवार स्तब्ध भएको बताइन्।
“विवाह मागी नै भएको हो, हामीले पनि धुमधामका साथ विवाह गरिदियौँ,” उनले भनिन्, “तर यति छोटो समयमा यस्तो घटना हुनु निकै दुःखद छ। घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, दोषीले उन्मुक्ति पाउनु हुँदैन र निर्दोष फस्नु पनि हुँदैन।”
बिन्दु कक्षा १२ मा अध्ययनरत रहँदै ब्यूटीपार्लरको तालिम लिएर घरमै बसेकी थिइन्। कुटुम्ब माग्न आएपछि धार्मिक परम्पराअनुसार विवाह गरिएको माईती पक्षले जनाएको छ। तर विवाह भएको छोटो समयमै भएको मृत्युका कारण बिन्दुकै श्रीमानमाथि शंका रहेको परिवारले दाबी गरेको छ।
मृतकका हजुरबुबा प्रेमसिंह धामीले घटनालाई रहस्यमय भन्दै गम्भीर छानबिनको माग गरेका छन्।
“मृतक नातिनीको यौनांगमा रगत देखिएको कारण हामीलाई अझ शंका लागेको छ,” उनले भने, “विवाह पनि झुक्याएर गरिएको जस्तो देखिन्छ।”
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।
“पोस्टमार्टम भइसकेको छ, रिपोर्ट आइतबारसम्म आउने सम्भावना छ,” उनले भने, “शव आफन्तलाई बुझाइसकिएको छ र घटनाबारे सूक्ष्म छानबिन भइरहेको छ।”
कञ्चनपुरका सामाजिक अगुवा रामदत्त भट्टले विवाह गरेर संगै जीवन बिताउने कसम खाएकी युवतीको यति छोटो समयमा मृत्यु हुनु गम्भीर सामाजिक प्रश्न भएको बताए ।
“यस घटनामा ठूलो पीडा लुकेको हुन सक्छ,” उनले भने, “यदि यस्तो अपराध लुकाइयो भने भविष्यमा अन्य महिलाहरू पनि जोखिममा पर्न सक्छन्। त्यसैले प्रहरीले निष्पक्ष र गम्भीर छानबिन गर्नुपर्छ।”
महिला अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूले समेत बिन्दु धामीको मृत्यु प्रकरणमा चासो व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।





















Discussion about this post