बेलडाँडी स्वास्थ्य केन्द्रमा सरसफाइ र व्यवस्थापनमा कमजोरी, सुधार गर्ने प्रतिबद्धता

बेलडाँडी । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरसफाइ र व्यवस्थापनमा देखिएको कमजोरीप्रति स्थानीयले चासो व्यक्त गरेका छन् । बुधबार बिहान बेलडाँडी गाउँपालिका-२ स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन पुगेका सेवाग्राहीले गेटमा जिम्मेवार कर्मचारी नभेटिनुका साथै परिसरमा झारपातका बोटबिरुवा फैलिएको देखेपछि असन्तुष्टि जनाएका हुन् ।

स्थानीयका अनुसार स्वास्थ्य केन्द्र परिसरमा झाडपातका बोटबिरुवा बढेका थिए, जसले सरसफाइप्रति लापरबाही भएको संकेत गरेको उनीहरूको भनाइ छ । वडा नं. ३ का स्थानीय गणेश गिरीले सरसफाइसम्बन्धी सन्देश दिने संस्था स्वयंमै यस्तो अवस्था देखिनु चिन्ताजनक भएको बताए । “न समयमै कर्मचारी भेटिए, न त सरसफाइ नै देखियो,” उनले भने ।

यस्तै, बिहान करिब साढे ९ बजे पोस्टमार्टमका लागि शव ल्याउँदा शवगृहमा अघिल्लो चिरफारपछिको सरसफाइ नगरेको पाइएको भन्दै सेवाग्राहीले असन्तुष्टि जनाएका थिए। यसले केही समय तनावको अवस्था समेत सिर्जना गरेको स्थानीयले बताएका छन्।

यस विषयमा स्वास्थ्य केन्द्र प्रमुख राम दत्त जोशीले एक महिना अघि झारपात उखेलेको भए पनि पुनः उम्रिएको बताए । उनले अब तुरुन्तै सफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्दै झारपात हटाउने काम अघि बढाइने जानकारी दिए । साथै, कर्मचारी व्यवस्थापनलाई पनि थप व्यवस्थित बनाइने उनको भनाइ छ । पोस्टमार्टम ढिलाइबारे सेवाग्राही पक्षको आवश्यक कागजात समयमै नआएकाले प्रक्रिया ढिला भएको स्पष्ट पारे ।

उता, वडा नं. २ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नारद सिंह उर्यालले देखिएका समस्या तत्काल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो अवस्था हुनु उपयुक्त नभएको स्वीकार गर्दै उनले आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने आश्वासन दिए ।

भिडियो हेर्न तलको लिङ्क खोल्नुहोस्

बेलडाँडी स्वास्थ्य केन्द्रमा सरसफाइ र व्यवस्थापनमा कमजोरी, सुधार गर्ने प्रतिबद्धता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित