काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामका लागि सहमति भएको घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरसम्म घटेको हो। विशेषगरी स्ट्रेट अफ होर्मुज सुरक्षित रूपमा सञ्चालन हुने संकेत पाएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका छन्।
मे महिनाको डेलिभरीका लागि डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलरमा झरेको छ। कारोबारका क्रममा मूल्य ९१.०५ डलरसम्म पुगेको थियो, जुन मार्च २६ यताकै सबैभन्दा न्यून स्तर हो।
राष्ट्रपति ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल खोल्ने सर्तमा युद्धविरामका लागि सहमति जनाएको बताएका थिए। यसअघि उनले उक्त जलमार्ग नखोलेमा इरानको नागरिक पूर्वाधारमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए।
यता, इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि आक्रमण रोकिएमा इरानले पनि प्रतिआक्रमण नगर्ने स्पष्ट पारेका छन्। उनले इरानी सशस्त्र बलको समन्वयमा दुई सातासम्म स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गमार्फत हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको थियो। इरानसँगको तनावका कारण मार्च महिनामा मात्र तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
राष्ट्रपति ट्रम्पका अनुसार इरानबाट प्राप्त १० बुँदे प्रस्ताव वार्ताको सकारात्मक आधार बनेको छ र दीर्घकालीन समाधानतर्फ दुवै पक्ष अग्रसर छन्। यद्यपि, बजार विश्लेषकहरूले अझै प्राविधिक तथा राजनीतिक विषयहरू समाधान हुन बाँकी रहेको बताएका छन्।
प्रारम्भिक रूपमा भएको यो सहमतिले विश्व बजारमा केही राहत ल्याए पनि स्थायी शान्तिका लागि अझै चुनौतीहरू कायम नै रहेको विश्लेषण गरिएको छ।
























Discussion about this post