हरिकिशन रानाको रहस्यमय मृत्यु प्रकरण, एक वर्ष बित्न लाग्दा पनि अनुसन्धानमा प्रगति शून्य, सांसदले मागे निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही

बेलडाँडी । बेलडाँडी गाउँपालिका-३ कमरीका भैँसीपालक किसान हरिकिशन रानाको रहस्यमय मृत्यु प्रकरण फेरि एकपटक राष्ट्रिय बहसको विषय बनेको छ। घटना भएको एक वर्षभन्दा बढी समय बित्न लाग्दा पनि अनुसन्धानमा उल्लेख्य प्रगति नदेखिएपछि प्रतिनिधिसभामा समेत यो विषय गम्भीर रूपमा उठाइएको हो।

गत बैशाख ९ गते बिहान बेलौरी नगरपालिका-१० शिवनगरस्थित निर्मल आर्यघाट नजिकै राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटनाको प्रकृति सुरुदेखि नै शंकास्पद मानिए पनि हालसम्म दोषी पहिचान हुन नसक्दा परिवार, स्थानीयवासी र नागरिक समाजमा गहिरो निराशा छ।

कञ्चनपुर क्षेत्र नम्बर २ का सांसद दीपक राज बोहराले चैत २५ गते प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एक वर्ष पुग्न लाग्दा पनि पीडित परिवारले न्याय नपाउनु दुःखद भएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग कडा माग गरेका छन्। “दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ,” उनले स्पष्ट रूपमा भने।

सांसदहरूबीच कञ्चनपुरका ज्वलन्त विषयहरू संयुक्त रूपमा संसदमा उठाउने सहमति समेत बनेको छ। उनीहरूका अनुसार अब समस्या उठाउने मात्र होइन, समाधान खोज्ने जिम्मेवारी पनि आफूहरूले लिनेछन्।

घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत परिचालन गरिएको थियो। तर, यति लामो समय बितिसक्दा पनि कुनै ठोस निष्कर्ष सार्वजनिक नहुनु आफैंमा गम्भीर प्रश्नको विषय बनेको छ।

पीडित परिवार र स्थानीयले सुरुदेखि नै केही महत्वपूर्ण पाटोहरूमा अनुसन्धान नगरेको आरोप लगाउँदै आएका छन्। उनीहरूले भने रानाले सार्वजनिक रूपमा भोगेको धम्कीबारे किन गहिरो अनुसन्धान गरिएन ? अनुदान विवादमा जोडिएका व्यक्तिहरूमाथि किन प्रभावकारी सोधपुछ भएन ? घटनाअघि राति गाउँमा देखिएको शंकास्पद गतिविधिको सत्य किन बाहिर ल्याइएन ?

स्थानीयका अनुसार बैशाख ८ गते राति करिब २-३ बजेतिर कमरी गाउँमा प्रहरी टोली पुगेर विवाह समारोहमा बजिरहेको डीजे बन्द गराउन खोजेको थियो। त्यही समयमा केही अपरिचित युवकहरू पनि प्रहरीसँगै पुगेको र “खाना देऊ” भन्दै कार्यक्रममा सहभागी भएको घटना अहिले पनि शंकाको घेरामा छ। सोही घटनाको भोलिपल्ट बिहान राना मृत अवस्थामा भेटिनुले झन् प्रश्नहरू उठाएको छ।

यस प्रकरणसँग जोडिएको अर्को गम्भीर विषय दुई वर्षअघि आएको ४० लाख रुपैयाँ अनुदानको विवाद हो। किसान समूहले उक्त रकममध्ये १२ लाख रुपैयाँको चेक र ४ लाख नगद अनियमितता भएको आरोप लगाउँदै आएका छन्। तर, यति गम्भीर आरोपका बाबजुद पनि यस विषयमा अहिलेसम्म कुनै ठोस अनुसन्धान सार्वजनिक भएको छैन।

मृतक रानाले सोही विवादका कारण आफूलाई पटक-पटक धम्की आएको बताउँदै आएका थिए। चेक प्रकरणमा दबाब, बेनामी कारोबार, र ‘नक्कली मामा’मार्फत बदनाम गर्न खोजिएको आरोपसमेत सार्वजनिक भएको छ। अडियो प्रमाणहरूमा दबाब र मिलापत्रका प्रयासहरू स्पष्ट रूपमा सुन्न सकिने बताइन्छ, तर ती प्रमाणहरूलाई अनुसन्धानको मुख्य आधार किन बनाइएन भन्ने प्रश्न अझै अनुत्तरित छ।

स्थानीय स्तरमा यस विषयमा व्यापक आन्दोलन समेत भएको थियो। विभिन्न राजनीतिक दल र नागरिकले गाउँपालिका उपाध्यक्षविरुद्ध विरोध जनाउँदै पालिका प्रवेशमा समेत रोक लगाएका थिए। नेपाली कांग्रेसले छानबिन समिति गठन गरी प्रतिवेदन तयार पारे पनि त्यो सार्वजनिक नहुनुले थप शंका पैदा गरेको छ।

पीडित परिवार भन्छ, अनुसन्धान सुरुदेखि नै प्रभावमा परेको छ। “हामीले बारम्बार उठाएका विषय, देखाएका प्रमाण र दिएका सूचनालाई गम्भीर रूपमा लिइएन,” परिवारको गुनासो छ। उनीहरूका अनुसार रानाले भोगेका धम्की, मानसिक तनाव र आर्थिक विवादका पाटोहरूबाट अनुसन्धान सुरु गरिएको भए आजसम्म सत्य नजिक पुग्न सकिन्थ्यो की ?

स्थानीयमा अहिले पनि निर्मला पन्त हत्या प्रकरण दोहोरिने हो कि भन्ने त्रास देखिन्छ। न्यायमा ढिलाइ हुँदा विश्वास कमजोर हुने र अपराधीहरू उत्साहित हुने चिन्ता नागरिकमा बढ्दो छ।

हरिकिशन राना एक मेहनती, आत्मनिर्भर र स्वदेशमै केही गर्ने सपना बोकेका युवा किसान थिए। उनको रहस्यमय मृत्युले केवल एक परिवारलाई मात्र होइन, समग्र समाजलाई नै झस्काएको छ।

“देशमै केही गर्न खोज्दा यस्तो अवस्था आउँछ भने अब के गर्ने?” एक स्थानीय युवाको प्रश्न छ, जसले धेरै युवाको मनोविज्ञान झल्काउँछ।

हाल, संसदमा विषय उठेपछि परिवारमा पुनः आशा पलाएको छ। उनीहरू चाहन्छन्, अब अनुसन्धान नयाँ ढंगले, निष्पक्ष रूपमा र प्रमाणमा आधारित भएर अघि बढोस्।

हरिकिशनको परिवार अझै सोधिरहेको छ, किन धम्की दिनेहरू अनुसन्धानको दायरामा परेनन् ? किन अनुदान विवादको जरोसम्म पुगिएन ? किन प्रमाण हुँदाहुँदै पनि सत्य लुकाइयो ? यी प्रश्नहरूको जवाफ नै न्यायको पहिलो पाइला त हुने छैन् ?

यो घटना केवल एक व्यक्तिको मृत्यु होइन, यो स्वदेशमै संघर्ष गर्ने हजारौं युवाको भरोसामाथि उठेको प्रश्न हो। अब राज्य संयन्त्र, राजनीतिक नेतृत्व र अनुसन्धान निकायले ढिलाइ नगरी सत्य बाहिर ल्याउनु नै पीडितलाई न्याय र समाजलाई भरोसा दिलाउने एकमात्र उपाय हो।

पहिलो पटक सदनमा यसरी गर्जियो भैंसीपालक किसान हरकिसन रानाको न्यायको आवज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित