बेलडाँडी । नेपाल रेडक्रस सोसाइटी बेलडाँडी गाउँपालिका शाखाले “रक्तदान गरौं, आशा जगाऔं, सबै जना मिलि जीवन बचाऊँ” भन्ने मान्यतालाई आत्मसात गर्दै आज एकदिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
रेडक्रसका आदर्श र मानवीय सेवाको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सृजनशील बचत तथा ऋण सहकारी संस्था लि., शुक्लाफाँटा-१० झलारीको सहयोगमा सम्पन्न भएको हो। बेलडाँडी शाखाका प्रमुख पवन कुमार जोशीका अनुसार शाखा स्थापना भएलगत्तै पहिलो निर्णयकै रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसमा २७ जनाले रक्तदान गरेका छन्।
बेलडाँडी गाउँपालिका-२ चवन्नी बजारस्थित त्रिशुली आधारभूत विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तथा प्रदेश विधान समिति संयोजक दिवान सिंह बिष्ट प्रमुख अतिथि रहेका थिए। उनले रेडक्रसजस्तो प्रतिष्ठित परोपकारी संस्थाले बेलडाँडीमा मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले रेडक्रस शाखा स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस संस्थालाई गाउँपालिकाले आवश्यक संरक्षण र सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै उनले दिवान सिंह बिष्टको योगदानको विशेष चर्चा गरे।
गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गज बहादुर बिष्टले बेलडाँडीमा परोपकारी संस्था स्थापना हुनु गौरवको विषय भएको बताउँदै यसको दायरा अझ फराकिलो बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिए।
समाजसेवी भीम बहादुर थापाले रक्तदानको महत्व जीवन बचाउने कार्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गरे। यस्तै, सृजनशील सहकारीका अध्यक्ष शिवराज भट्टले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरूमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाए।
कार्यक्रमको सञ्चालन युवा समाजसेवी तथा नौ पटक रक्तदान गरिसकेका सरद पाण्डेयले गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजसेवाको क्षेत्रमा महत्वपूर्ण पाइला चाल्दै रेडक्रस बेलडाँडी शाखाले आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
























Discussion about this post