बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ, ज्यान मुद्दामा अनुसन्धान सुरु

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई ज्यान सम्बन्धी गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी मार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दर्ता भएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको हो।

मृतक हरकिशन रानाकी पत्नी फिरिया देवी रानाले दिएको जाहेरीमा उपाध्यक्ष नाथले योजनाबद्ध रूपमा धम्की, आर्थिक लेनदेनको दबाब र अन्ततः ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ। जाहेरी अनुसार, कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल गर्ने प्रयास गरिएको र रकम नदिएपछि बारम्बार ज्यान मार्ने धम्की दिइएको उल्लेख छ।

पीडित परिवारका अनुसार ४० लाख रुपैयाँको अनुदान प्रक्रियामा संलग्न गराएर मृतकबाट करिब ४७-४८ लाख रुपैयाँ खर्च गराइएको थियो। पछि उपाध्यक्ष नाथले १२ लाख रुपैयाँ चेक र थप ४ लाख नगद माग गरेको, तर सो रकम दिन नसक्दा मृतकलाई निरन्तर धम्की दिइएको दाबी गरिएको छ।

घटनाको चरम बिन्दुमा, २०८२ साल वैशाख ९ गते बिहान बेलौरी नगरपालिका-१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक मृतक हरकिशन रानाको शव जलेको अवस्थामा फेला परेको थियो। मोटरसाइकल समेत जलाइएको अवस्थामा भेटिएको उक्त घटनालाई परिवारले सुनियोजित हत्या भएको दाबी गरेको छ।

जाहेरीसँगै प्रहरी सर्जमिन मुचुल्का, सेती प्रादेशिक अस्पतालको शव परीक्षण रिपोर्ट लगायतका प्रमाणहरू पेश गरिएको छ। साथै, चेक प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।

यसैबीच, नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमल राना नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

स्थानीयवासीका अनुसार उपाध्यक्ष नाथले यसअघि पनि गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई गालीगलौज गर्ने जस्ता विवादास्पद गतिविधि गर्दै आएकी थिइन्।

हाल प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर विस्तृत अनुसन्धान गरिरहेको छ भने पीडित परिवारले न्यायको माग गर्दै दोषीलाई कडा कारबाही गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित