बेलडाँडी । बेलडाँडी गाउँपालिकाले आर्थिक अनुशासन र पारदर्शितामा उल्लेखनीय सुधार गर्दै कञ्चनपुरमै उदाहरणीय नतिजा प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको नेतृत्वमा अघि बढाइएको बेरुजु न्यूनीकरण अभियानले यस वर्ष प्रत्यक्ष परिणाम दिएको हो ।
महालेखा परीक्षकको कार्यालयले जेठ १ गते राष्ट्रपति कार्यालयलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४.०६ प्रतिशत रहेको बेलडाँडी गाउँपालिकाको बेरुजु आर्थिक वर्ष २०८१/०८२ मा घटेर ०.४९ प्रतिशतमा झरेको छ । अर्थात् बेलडाँडीले एक वर्षमै करिब ८.२९ गुणाले बेरुजु घटाउन सफलता हासिल गरेको छ ।
गत वर्ष कञ्चनपुरका स्थानीय तहमध्ये उच्च बेरुजु भएका पालिकामध्ये गनिएको बेलडाँडी अहिले सुधारको उत्कृष्ट उदाहरण बनेको छ । गत वर्षको तथ्यांक हेर्दा शुक्लाफाँटा नगरपालिका ०.७१%, बेलडाँडी गाउँपालिका ४.०६%, दोधारा चाँदनी नगरपालिका ३.८७%, कृष्णपुर नगरपालिका २.५३%, बेलौरी नगरपालिका ५.३५%, बेदकोट नगरपालिका ०.४८%, भीमदत्त नगरपालिका ४.२५%, लालझाडी गाउँपालिका २.९३% र पुनर्वास नगरपालिका २.२७% बेरुजुमा रहेका थिए ।
तर यस वर्षको अवस्था भने उल्लेखनीय रूपमा फेरिएको छ । शुक्लाफाँटा नगरपालिका ०.३६ प्रतिशतसहित पहिलो स्थानमा रहँदा बेलडाँडी गाउँपालिका ०.४९ प्रतिशतसहित दोस्रो उत्कृष्ट पालिका बनेको छ । त्यसपछि दोधारा चाँदनी नगरपालिका ०.५८%, कृष्णपुर नगरपालिका ०.७३%, बेलौरी नगरपालिका ०.८४%, बेदकोट नगरपालिका ०.८७%, भीमदत्त नगरपालिका १.२% र लालझाडी गाउँपालिका २.१३% बेरुजुमा रहेका छन् । पुनर्वास नगरपालिकाको विवरण भने श्रेस्ता जेनजी आन्दोलनका क्रममा जलेका कारण सार्वजनिक हुन सकेको छैन ।
स्थानीयका अनुसार गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले पद सम्हालेपछि आर्थिक पारदर्शिता, मितव्ययिता र सुशासनलाई प्राथमिकतामा राख्दै आएका थिए । अनावश्यक खर्च कटौती गर्ने, कार्यालयभित्रको खर्च प्रणालीलाई व्यवस्थित बनाउने तथा प्रत्येक योजनामा आर्थिक अनुशासन कायम गर्ने नीति अवलम्बन गरिएको थियो । कार्यालयको नाममा हुने अनावश्यक खाजा-नास्ता लगायतका फजुल शिर्षक समेत कटौतीका कारण आउदो बर्ष अझ बेरुजु घटेर आउने पालिका प्रमुख रानाले दावी गर्नु भयो ।
बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले आगामी वर्ष अझै कम बेरुजु ल्याउने लक्ष्यसहित काम भइरहेको बताए । उनका अनुसार जनताको पैसाको सही सदुपयोग, पारदर्शी योजना कार्यान्वयन र वित्तीय अनुशासन कायम राख्ने अभियानलाई अझ प्रभावकारी बनाइनेछ । अव आउदो बर्ष बेरुजु अझै धेरै घट्ने उहाँले बताउनु भयो । बेरुजु घटाउन विभिन्न कार्य यसपालि समेत गरिएको उहाँले जानकारी गराउनु भयो ।
बेरुजु घटाउने अभियानकै कारण गाउँपालिका नेतृत्व, लेखा शाखा तथा कर्मचारीहरू पटक-पटक विवादमा तानिए पनि अहिले आएको नतिजाले उनीहरूको काम सही दिशामा रहेको पुष्टि गरेको स्थानीयको भनाइ छ ।
यता प्रमुख रानाले “समृद्ध बेलडाँडी” निर्माणको लक्ष्यसहित विकास निर्माणका कामलाई पनि सँगसँगै अघि बढाएका छन् । बेलडाँडीमा १५ शैयाको अस्पताल, विद्युत सब-स्टेशन, कोल्डस्टोर, रेडक्रस भवन, आपतकालीन सेवा भवन, वडा प्रशासकीय भवन, बाढीका कारण भत्किएको तटवन्धन निर्माण तथा फराकिला सडक निर्माणजस्ता योजनाहरू आन्तरिक असयोगका बावजुत अघि बढ्नुमा रानाको सक्रिय पहल मुख्य कारण मानिएको छ ।
शिक्षक पेशा त्यागेर राजनीतिमा आएका राना जन्मभूमिको विकासमा समर्पित नेताका रूपमा चिनिन्छन् । सीमित स्रोत-साधनका बाबजुद पालिकामा ठूला योजना भित्र्याउन उनले मन्त्रालयदेखि विभिन्न सरकारी निकायसम्म निरन्तर पहल गर्दै आएका छन् । कतिपय योजना कार्यान्वयनका क्रममा समस्या देखिए पनि समाधानका लागि उनी निरन्तर सक्रिय रहने गरेको निकट स्रोत बताउँछ ।
स्थानीयवासीहरूका अनुसार बेलडाँडीमा अहिले देखिएको परिवर्तन भाषणभन्दा कामको परिणाम हो । आर्थिक अनुशासन, पारदर्शिता र विकास निर्माणलाई सँगसँगै अघि बढाउने अभियानले बेलडाँडीलाई नयाँ पहिचान दिलाउन थालेको उनीहरूको बुझाइ छ ।























Discussion about this post