बेलडाँडीमा शाखा नै नभएको बैंकको उदाहरणीय सहयोग, ‘नाफा मात्र होइन, समाजप्रतिको दायित्व पनि’ भन्ने सन्देश

बेलडाँडी । माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिलास्थित बैजनाथ माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री, फर्निचर तथा प्राविधिक प्रयोगशालाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो। विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय तथा व्यवहारिक बनाउने उद्देश्यले गरिएको सहयोगले विद्यालय परिवारमा उत्साह थपेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख विष्णु लामिछानेले शिक्षामा गरिएको लगानी समाजको दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी धनगढी शाखाका शाखा प्रबन्धक शिवराज पाठकले ग्रामीण क्षेत्रका विद्यालयमा शैक्षिक पूर्वाधार तथा सिकाइ सामग्रीको अभावलाई मध्यनजर गर्दै सहयोग गरिएको बताए। उनले प्राप्त सामग्रीले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न, विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्न तथा सीप विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो। विद्यालय प्रशासनले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले पठनपाठन र अतिरिक्त क्रियाकलाप सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने जनाएको छ।

विशेष कुरा के छ भने माछापुच्छ्रे बैंकको बेलडाँडीमा कुनै शाखा छैन। तर पनि स्थानीय समुदाय र शिक्षाको विकासप्रति जिम्मेवार बन्दै बैंकले बेलडाँडीमै पुगेर सहयोग गरेको कार्यको स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्।

बेलडाँडीमा वर्षौंदेखि कारोबार गर्दै आएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले बचत संकलन र कर्जा प्रवाहमार्फत आम्दानी गरिरहेका भए पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रम भने विरलै देखिने गरेको स्थानीयको भनाइ छ। त्यसैले माछापुच्छ्रे बैंकको यो पहलले ‘बैंक भनेको केवल नाफा कमाउने संस्था मात्र होइन, समाजप्रति उत्तरदायी साझेदार पनि हो’ भन्ने सन्देश दिएको छ।

स्थानीयवासीहरू यस्ता उदाहरणीय कार्यबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत पाठ सिक्दै शिक्षा, स्वास्थ्य, खेलकुद र सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने अपेक्षा व्यक्त गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित