च्याउ खोज्न जंगल गएका कञ्चनपुरका १७ महिला सम्पर्कविहीन, उद्धारका लागि टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १७ जना महिला आइतबारदेखि सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका-१९ स्थित दशरथ टोलका १४ जना महिला आइतबार बिहान करिब ११ बजे मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए । त्यसयता उनीहरू घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको हो।

यस्तै, बेलडाँडी गाउँपालिका-२ का तीन जना महिला पनि आइतबार बिहान च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गर्दा बाटो बिराएर जंगलमै अलपत्र परेका छन् ।

आइतबार रातिसम्म नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको टोलीले खोजी गरे पनि उनीहरूको यकिन स्थान पत्ता लाग्न सकेन। सोमबार बिहानैदेखि पुनः उद्धार टोली जंगलभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्पर्कविहीन बेलडाँडी क्षेत्रका महिला फोनमार्फत सम्पर्कमा रहेका छन् । उनीहरूले आफूहरू सुरक्षित रहेको जानकारी दिए पनि जंगलभित्रको ठ्याक्कै स्थान खुलाउन नसक्दा उद्धारमा कठिनाइ भइरहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र अनधिकृत रूपमा प्रवेश गर्न प्रतिबन्ध लगाएको भए पनि लुकीछिपी च्याउ तथा अन्य वन पैदावार संकलन गर्न जाने प्रवृत्ति कायमै रहेको छ । यसका कारण बाटो बिराउने, जंगली जनावरको आक्रमणमा पर्ने तथा अन्य जोखिमपूर्ण घटनाहरू दोहोरिने गरेको सरोकारवालाहरूले बताएका छन् ।

प्रहरीले निकुञ्ज प्रशासनको नियम पालना गर्न तथा अनुमति बिना जंगल प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित