सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेश सभा बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ।
गत ३१ असारमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह स्पष्ट अल्पमतमा परेका थिए। त्यसपछि उनले विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाइदिन सचिवालयलाई पत्राचार गरेका थिए। सोही आधारमा सभामुख भीमबहादुर भण्डारीले बैठक आह्वान गरेका हुन्।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइएको हो। यद्यपि, स्रोतका अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना नरहेकाले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने तयारी गरेका छन्। त्यसपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने तयारी रहेको बताइएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार जोगाउन कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली कांग्रेसका १८ सांसद मुख्यमन्त्री शाहको पक्षमा छन्। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा रहेका छन्।
सरकार जोगाउन कांग्रेसको १८ मतबाहेक थप ९ मत आवश्यक पर्ने भए पनि सत्ता पक्षले आवश्यक समर्थन जुटाउन नसकेपछि मुख्यमन्त्री शाह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नेकपा र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बताइएको छ। नयाँ गठबन्धनबाट नेकपाका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ।























Discussion about this post