भोटेकोशी बाढी : बेलडाँडी र लालझाडीका ६ जना सकुशल, अन्यको खोजी जारी

कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरका नागरिकहरूको खोजी तथा सम्पर्क गर्ने कार्य जारी रहेको छ। यसैक्रममा बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका गरी ६ जना सकुशल रहेको पुष्टि भएको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का माननीय जनक सिंह धामीले बेलडाँडीका सन्तोष रानामार्फत बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूसँग टेलिफोन सम्पर्क गरी उनीहरू सकुशल रहेको जानकारी प्राप्त भएको बताएका छन्। उनीहरू हाल शान्तिबजार क्षेत्रमा सुरक्षित रहेको जनाइएको छ।

सकुशल रहेको पुष्टि भएकाहरूमा बेलडाँडी गाउँपालिकाका सन्तोष राना, अजय राना र सुरेश राना तथा लालझाडी गाउँपालिकाका दीपेन्द्र राना, वीरेन्द्र राना र हेमराज राना रहेका छन्।

माननीय धामीका अनुसार, हिजोदेखि सम्पर्कविहीन रहेका उनीहरूसँग बेलडाँडीका सन्तोष रानामार्फत फोन सम्पर्क भएपछि सबै जना सुरक्षित रहेको जानकारी प्राप्त भएको हो।

यस्तै, बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले पनि सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन पहल भइरहेको बताएका छन्। खोजीका क्रममा उनीहरू सकुशल रहेको जानकारी प्राप्त भएको उनले जनाए।

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ भने विभिन्न स्थानमा काम तथा बसोबास गर्दै आएका नागरिकहरूसँग सम्पर्क टुटेपछि उनीहरूका परिवार चिन्तित बनेका छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क र आवतजावतमा समस्या हुँदा धेरै व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्न कठिनाइ भइरहेको जनाइएको छ।

सम्पर्कविहीन रहेका अन्य नेपाली नागरिकहरूको समेत खोजी तथा उद्धार र सम्पर्क स्थापित गर्ने कार्य जारी रहेको सम्बन्धित पक्षहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित