बेलडाँडीमा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत सम्पन्न

बेलडाँडी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बेलडाँडी गाउँपालिकामा वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। महाधिवेशनको कार्यतालिकाअनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशन गाउँपालिकाका पाँचवटै वडामा उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको हो।

नेपाली कांग्रेस बेलडाँडी सचिव कुलैराज उपाध्यायका अनुसार सबै वडामा वडा सभापति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। बिहानैदेखि सुरु भएको अधिवेशनमा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनबाट वडा नं. १ मा रणबहादुर सिंह, वडा नं. २ मा मदनराज भट्ट, वडा नं. ३ मा सञ्जीवविक्रम सिंह (धुर्व), वडा नं. ४ मा मानबहादुर खड्का र वडा नं. ५ मा हेमराज राना सर्वसम्मत वडा सभापति चयन भएका छन्।

वडा नं. ३ बाहेक १, २, ४ र ५ नम्बर वडामा यसअघिका सभापतिहरू नै पुनः सभापतिमा दोहोरिएका छन्। पाँचवटै वडामा क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको कांग्रेसले जनाएको छ।

वडा नं. २ बाट ३२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने अन्य वडाबाट कांग्रेसको विधानअनुसार २३-२३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

१५औँ महाधिवेशनको तयारी वडा तहबाटै सुरु भएसँगै अधिवेशनमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू उत्साहका साथ सहभागी भएका थिए। २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यहरूले वडा अधिवेशनमा सहभागिता जनाएका थिए।

सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै बेलडाँडी कांग्रेसमा आन्तरिक एकता र सहकार्यको वातावरण देखिएको नेताहरूले बताएका छन्। पाँचवटै वडामा सहमतिका आधारमा नेतृत्व तथा प्रतिनिधि चयन हुनुले बेलडाँडी कांग्रेस एकढिक्का भएर अघि बढेको सन्देश दिएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ।

वडा तहको अधिवेशन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएसँगै अब कांग्रेसको १५औँ महाधिवेशनका आगामी चरणतर्फ बेलडाँडी कांग्रेस अघि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित